मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारलाई अहिले पनि संघीय सरकारले अधिकार विहीन अवस्थामा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिकामा सोमवार एकै दिन ४ वटा संरचनाको उद्घाटन गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । अव मधेश पहिले जस्तो रहेन, मधेशमा जागरण आइसकेको छ, जसपा नेपालका राजनीतिक समितिका सदस्य समेत रहेका मन्त्री साहले भने,‘प्रदेशलाई पूर्ण अधिकार प्राप्ति होस भन्नका लागि नै मधेश प्रदेश सरकारले सर्वाेच्च अदालतमा मुद्दा समेत दायर गरेको छ ।’ उनले अब पनि प्रदेशलाई अधिकार नदिने हो भने फेरि आन्दोलनको विकल्प नरहने जिकिर समेत गरे । तिरहुत गाउँपालिकाको विभिन्न वडामा निर्मित २ सामुदायिक भवन, १ खेलकुद भवन र १ मन्दिरको एकै दिन उद्घाटन गरेका उनले आफू शिलान्यास भन्दा पनि काम पूरा गरी उद्घाटन र समुदायमा हस्तान्तरण गर्नमा बढी रुची राख्ने गरेको स्पष्ट पारे । एक महिना भित्र मन्त्री साहले सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र आफ्नो संसदीय विकास कोषको रकमबाट सप्तरी जिल्लाको विभिन्न पालिकामा १७ वटा नयाँ संरचनाको निर्माण गरी उद्घाटन गरिसकेका छन् ।
उद्घाटनका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादव, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साह, सामुदायिक भवनका लागि निशुल्क जग्गा दान गर्ने जग्गा दाता सुर्या देवी दास तथा स्थानीयवासीको उलेख्य उपस्थिति रहेको थियो ।