प्रमुख सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गरेका छन् ।
कांग्रेसका शीर्ष नेताहरू नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गर्दै सोमवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । उनीहरूले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपति भण्डारीले उठाएको मुद्दा आगामी विधेयकमा सम्बोधन गर्ने पनि आश्वासन दिएका छन् । राष्ट्रपतिसँग भेट्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र नेता ज्ञानेन्द्रबहादुर कार्की शीतल निवास पुगेका थिए । सम्वादका क्रममा राष्ट्रपतिले दलहरूसँग छलफल गर्ने विगतकै परम्परा भएको र त्यसअनुसार छलफल गर्न चाहेको बताएकी थिइन् । नागरिकता विधेयकबारे चासो राखेकी उनले आफ्नो सन्देशबारे छलफल नभएकोमा असन्तुष्टि जनाएको भेटमा सहभागी एक नेताले बताए । जवाफमा कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेकाले आफूहरुको कुनै गुनासो नभएको बताएका थिए । सत्तारुढ दलका केही नेताले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको आलोचना गरे पनि कांग्रेसले भने यसलाई संवैधानिक नै भनेको छ । उनीहरूले राष्ट्रपतिले विधेयक फिर्ता गर्दा उठाएका सवाल आगामी दिनमा ल्याइने अर्को अध्यादेशमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
गत साउन १५ गते संघीय संसदले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिले १५ बुँदे सन्देशसहित विधेयक फिर्ता गरे पनि सरकारले भदौ २ गते उक्त विधेयक पुन प्रतिनिधि सभामा जस्ताको त्यस्तै पेश गरेर बहुमतका आधारमा पारित गरिसकेको छ । हाल उक्त विधेयक राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाले उक्त विधेयक संसदीय समितिमा छलफलका लागि पठाएको छ । आफूले प्रतिनिधि सभामा सन्देशसहित पुनर्विचारका लागि पठाएको विधेयक जस्ताको त्यस्तै पारित भएपछि राष्ट्रपति भण्डारी असन्तुष्ट बनेकी थिइन् । उनले नागरिकता विधेयकका बारेमा विभिन्न व्यक्तिहरूसँग छलफलको क्रमलाई तीव्र बनाएकी थिइन् । गत शनिवार लोकतान्त्रिक समाजवादीका नेताहरूसँग भेटेकी राष्ट्रपति भण्डारीले सोमवार कांग्रेस नेताहरूसँग नागरिकता विधेयकका बारेमा छलफल गरेकी हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको त्यस्तै आएको अवस्थामा राजिनामा दिनेसम्मको मनस्थिति बनाएको उनी निकट स्रोतले बताएको छ ।


