अपडेट 
२०७९ भाद्र १४, मंगलवार ०८:०९

आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको भार्मिक विश्वास छ । आज धेरैले निराहार व्रत बस्ने  गरेका छन् ।

तीजका अवसरमा आज महिलालाई सरकारले  सार्वजनिक बिदा दिएको छ । यसैबीच, तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर दिने उल्लेख गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।

Comment

Related News

Latest News

Trending News