
चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले सिट बाँडफाँटबारे सहमति जुटाउन सकेका छैनन् । सिट बाँडफाँटको छलफल थालेको एक महिना बित्न लागे पनि तालमेल गर्दा कुन दलले कति हिस्सा लिने भन्ने विषय अझै टुंगिएको छैन । दलहरूबीच सिट बाँडफाँटको विषय झन्–झन् पेचिलो बन्दै गएको छ । गठबन्धनमा रहेका दल सकेसम्म बढी हिस्सा लिन एक–अर्कामा बार्गेनिङमा उत्रिएका छन् ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हदैसम्म लचक भएरै भए पनि चुनावी तालमेलको पक्षमा छन् । अन्य दलहरू भने गठबन्धनमा ठूलो भाग नपाए फरक गठबन्धनको सम्भावनासमेत नटरेको भन्दै धम्क्याइरहेका छन् । अहिले दलहरूबीच आन्तरिक गृहकार्य भइरहेको छ । सिट बाँडफाँटको अन्तिम गृहकार्य भनेर बुधबार चार बजेका लागि गठबन्धनको बैठक राखिएको छ । ‘कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा देशभर कहाँ कस्तो अवस्था छ भन्ने सरसर्ती अध्ययन गरेको छ,’ कार्यदलका एक सदस्यले भने, ‘कार्यदलले दलहरूको प्रारम्भिक दाबीसमेत भइसकेको छ । अहिले सबै दल आन्तरिक छलफलमा छौँ, बुधबार बेलुकाको गठबन्धन बैठकमा अन्तिम ‘मुख फोर्ने’ भन्ने छ ।’ गठबन्धनमा अन्तिम मुख फोर्ने तयारी चलिरहेका बेला सिट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने कोरोना संक्रमण भएर थलिएका छन् । सिटौला थलिएपछि प्रधानमन्त्री देउवाले दलहरूबीच सहमतिको वातावरण बनाउन अर्का नेता रामचन्द्र पौडेललाई खटाएका छन् । नेता पौडेलले गठबन्धन दलका नेताहरूलाई घर–घरै पुगेर सिट बाँडफाँटका विषयमा सहमति जुटाउन फकाउने प्रयास गरेका छन् ।

मंगलबार मात्रै पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निवासमै पुगेर भेटेका थिए । पौडेलले त्यही विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत भेटेका छन् । नेपाल र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका नेता पौडेलले अहिले नै सहमति हुने बातावरण भने नबनेको बताए । ‘मैले गठबन्धन दलका नेताहरूसँग भेटेँ । कुराकानी भएको छ । तर, उहाँहरूले आ–आफ्नो दाबी छोड्नुभएको छैन,’ पौडेलले भने, ‘सहमति गरेर, तालमेल गरेर चुनावमा जानुको विकल्प छैन भन्नेमा उहाँहरू पनि एकमत हुनुहुन्छ । तर, सिटको विषयमा सहमति भएको छैन । बुधबारसम्म एउटा निष्कर्षमा पुग्छौँ ।’ कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाको लचकतालाई आधार बनाएर सिट बाँडफाँटमा धेरै भाग लिने अन्य दलका नेताहरूको प्रयास छ । तर, देउवाले आफ्नै पार्टीभित्रका नेताहरूलाई भने रिझाउन सक्ने अवस्था छैन । कांग्रेस नेता शेखर कोइराला समूहले सिट बाँडफाँटमा पार्टीले १०० सिटको दाबी छोड्न नहुने अडान लिँदै आएको छ । कार्यदलमा सदस्यसमेत रहेका महामन्त्री गगन थापाले कांग्रेसले १०० सिट नपाएर हुने गठबन्धनले अन्य दललाई पनि फाइदा नपुग्ने बताउँदै आएका छन् । गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मोर्चाबन्दी गरेर कांग्रेससँग बराबरी हिस्सा मागेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि देशभर १६५ निर्वाचन क्षेत्र छन् । तर, गठबन्धनमा ठूलो दल कांग्रेसले १०० सिट दाबी गर्दा अन्य दलले १२७ सिटमा दाबी प्रस्तुत गरेका छन् । जसमा माओवादी केन्दको ६०, एकीकृत समाजवादीको ४०, जसपाको २५ र जनमोर्चाको दुई सिटमा दाबी छ । सिट बाँडफाँट मिलाउन गठबन्धनले साउन २० मा पाँच दलका नेता सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदलले यसबीचमा प्रधानमन्त्रीको सरकारी निवासमै सरकारी स्रोत साधन उपयोग गरेर दर्जनौँ पटक बैठक गरेको छ । तर, कार्यदलले नतिजा दिन सकेको छैन । दलहरूले आ–आफ्नो दाबी छोडेका छैनन् । गठबन्धनमा सिट बाँडफाँटकै लागि दर्जनौँ पटक बैठक र छलफल गरेपनि सहमति नजुटेपछि नेताहरू कोही अर्को पार्टीका नेता फकाउन घरदैलो गरिरहेका छन् भने कोही गठबन्धनमा ठूलो भाग नपाए अन्य दलसँग मिलेर गठबन्धन गर्ने धम्की दिन थालेका छन् । विराटनगरमा शनिबार कांग्रेसले गरेको एक सभामा नेता शेखर कोइरालाले कांग्रेसले १०० सिट नपाए गठबन्धन गर्नुको औचित्य नहुने बताएका थिए । ‘अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानु परेको हो । तर, कांग्रेस कमजोर छैन । एक्लै पनि निर्वाचनमा जान सक्षम छ,’ कोइरालाले भनेका थिए, ‘गठबन्धन गर्नु बाध्यता हो । तर, अन्य दलले दाबी गर्दैमा सिट छोड्ने कुरा हुँदैन । कांग्रेसले १०० सिट नलिएको गठबन्धनको अर्थ छैन ।’ त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आफ्नो पार्टी ६० सिटको दाबीबाट पछि नहट्ने बताए । ‘ प्रतिनिधिसभामा हाम्रो पार्टीको दाबी ६० सिट हुन्छ, त्योभन्दा घट्न सकिदैन, त्यस्तै प्रदेशसभामा १२० सिटमा दाबी रहन्छ,’ दाहालले भनेका छन् । दाहालले सिटमा दाबीमात्रै दिएका छैनन्, कांग्रेसले त्यति सिट नदिए अर्को गठबन्धन बन्ने चुनौती पनि दिएका छन् । ‘सकेसम्म अहिलेको गठबन्धन निरन्तर हुन्छ । यदि कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामी बाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौँ,’ दाहालले आइतबार पार्टीको बागमती प्रदेश कमिटीका पदाधिकारीहरूसँग भनेका थिए ।
साउन १८ मा गठबन्धन दलबीच आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति हुँदा नेताहरूले साउन मसान्तभित्र सिट बाँडफाँटको खाका बनाउन कार्यदललाई जिम्मेवारी दिएका थिए, भदौ पहिलो साता त्यसबारे टुंगोमा पुग्ने तयारी थियो । तर, भदौको दोस्रो साता बितिसक्दा पनि सिट बाँडफाँटको प्रस्ट खाका आइसकेको छैन । ०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा माओवादी केन्द्रले ३६ सिट जितेको थियो भने कांग्रेस २३ सिटमा खुम्चिएको थियो । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा हाल १२ सांसद् छन् । त्यस्तै, जनता समाजवादीमा ११ र राष्ट्रिय जनमोर्चामा १ सांसद् छन् । गठबन्धनमा कांग्रेसबाहेक दलले ०७४ मा जितेका क्षेत्र सम्बन्धित दलले लिनुपर्ने दाबी छ भने कांग्रेसले भने पार्टी संगठन र ०७९ को स्थानीय निर्वाचनको परिणामका आधारमा सिट बाँडफाँट हुनुपर्ने माग गर्दै आएको छ । नेता पौडेलले अब सिट बाँडफाँटको टुंगो लाग्दा कुन क्षेत्र कुन दलले लिने भन्नेसमेत टुंगो लाग्न सक्ने बताए । ‘हामीले कुन दलले कति सिट लिनेभन्ने मात्रै होइन, कुन दलले कुन–कुन क्षेत्रमा उम्मेदवारी दिने भन्नेसमेत छलफल गरिरहेका छौँ, सिट संख्या र निर्वाचन क्षेत्रसमेत एकैपटक टुंगो लाग्न सक्छ,’ उनले भने ।