अपडेट 
२०७९ भाद्र १५, बुधबार ०६:५४

अहिले देशभर अघोषित लोडसेडिङ छ कि छैन, यो कुरो भन्न सजिलो छैन तर धेरै ठाउँमा छिनछिनमा लाइन गइरहने समस्या रहेको छ । यसको उदाहरण यो पनि हो कि एकै दिन विभिन्न जिल्लामा अघोषित लोडसेडिङविरुद्ध युवाहरुले प्रदर्शन गरेछन् । युवाहरुले अघोषित लोडसेडिङ विरुद्ध प्रदर्शन नै गर्नेपर्ने अवस्था आउँदा कतिपयले भने अर्कै अनुमान गरेका छन् । अहिले चुनाव आउन थालेको छ । चुनावको मिति घोषणा भएपछि देशभरमा बालेन र हर्कको समर्थन गर्ने युवाहरुले चुनाव लक्षित आफ्नो अस्तित्व देखाउनको लागि सर्वसाधारणका समस्यालाई मुखरित गर्न प्रदर्शन गरेका हुन् रे । अन्तरकुन्तरमा कुनै कारण होला तर युवाहरुले जुन प्रदर्शन गरेका छन् त्यसमा यथार्थ रहेको छ । बिजुलीका समस्याहरु अनेक छन् र छिनछिनमा लाइन कट्दा मुख्य रुपमा विद्युतीय सामग्रीमा कत्तिको असर गर्दो रहेछ भन्ने भरपाई गर्ने कुनै उपाय छैन । देशमा अहिले विद्युतको उत्पादन राम्रो भइरहेको छ ।

देशमा उत्पादन भइरहेको बिजुली अहिले खपत बढाउने उपायको खोजी भइरहेको छ । एकातिर ऊर्जा अर्थात् डिजल, पेट्रोल तथा मट्टितेलमा जति धेरै लगानी भइरहेको छ, त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विकल्पको खोजी भइरहेको छ । घरमा एलपि ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहन दिइरहेको अवस्था यसकारण पनि छ कि नेपालीको भान्छामा विद्युत खपत हुँदा एकातिर बिजुलीको महसुलमा तिरेको जति पैसा नेपालमै रहने हुन्छ भने अर्कोतिर देशले डलरमा किन्नुपर्ने एलपि ग्याँसको आयातमा कमी आउँछ । नितान्त उपभोक्ताको हकमा पनि फाइदा छ । अहिले एलपि ग्याँस प्रयोग भइरहेको ठाउँमा विद्युतीय चुलो प्रयोग गर्दा एलपि ग्याँसभन्दा भान्छामा विद्युत निकै सस्तो परिरहेको छ । प्रयोग गर्नेहरु भन्दछन् – यदि व्यक्तिगत कुरो गर्ने हो भने पनि इन्डक्सन चुलोबाट खाना पकाउने हो भने ग्याँसको तुलनामा निकै धेरै फाइदा हुन्छ । घरमा विद्युतको प्रयोग गर्दा सोझै तिनतिर फाइदा हुने देखिएको छ । व्यक्तिगत बचत, देशकै विद्युत खपत र विदेशमा देशको पैसा जान रोकिने । यसको दीर्घकालीन महत्व रहेको छ । देशलाई समृद्ध बनाउने सपनाको बाटोमा यो पनि एउटा गोरेटो हो । साँच्चिकै यदि हामीले आफ्नो घरमा बिजुलीबाट खाना पकाउने र खेतमा बिजुलीबाट सिंचाइ गर्न थाल्ने हो भने यो धेरै हदसम्म किफाइती हुन्छ । जहाँ डिजेलबाट सिंचाइ गर्दा एक घन्टामा सर्वसाधारण किसानले अहिले पाँच सय रुपैया तिर्नु परिरहेको छ । त्यसैलाई यदि बिजुलीमा कन्भर्ट गर्ने हो भने केही रुपैया मात्र लाग्न सक्छ ।

यसलाई व्यवहारमा यसरी बुझ्न सकिन्छ : एक घन्टामा डिजलबाट चल्ने पम्पसेटले चार कट्ठा खेतमा पानी पटायो । त्यही चार कट्ठा खेत पटाउन बिजुलीबाट चल्ने बोरिङबाट डेढ घन्टा लाग्यो । डेढ घन्टामा पाँच युनिट विद्युत खर्च भयो । पाँच युनिट विद्युतको कूल खर्च प¥यो दश रुपैया । जति सुकै धेरै भए पनि यसलाई अझ दोब्बर गरेर बिस रुपैया नै मानौँ । जहाँ चार कट्ठा खेत पटाउन पाँच सय रुपैया परेको छ त्यहीँ बिस रुपैया पर्नुमा कुनै तुलना हुन सक्दैन । अझ प्रदेश सरकारले घोषणा गरेजस्तै यदि पचहत्तर प्रतिशत रुपैया तिरिदिने हो भने त्यही चार कट्ठा पटाउन दश रुपैया लागेको छ भने अढाई रुपैया र यदि बिस रुपैयाको विद्युत खर्च भएको छ भने पाँच रुपैया भयो अर्थात् करिब एक प्रतिशत रकममा सिंचाइ हुन्छ । एक प्रतिशत नभए पनि यदि बिजुलीको खपतबाट हुने सिंचाइ र डिजलबाट हुने सिंचाइमा कुनै तुलना नै हुन सक्ने अवस्था छैन भने सर्वसाधारण किसानले पनि बिजुलीको खपतमा वृद्धि गर्नु स्वास्थ्य तथा वातावरण र अर्थतन्त्र सबै दृष्टिकोणले फाइदाजनक रहेको छ । यी कुरा बुझ्न धेरै गाह्रो पनि छैन तर समस्या फेरि पनि अघोषित लोडसेडिङकै हुन जान्छ । अहिले विदेश निर्यात हुन थालेको विद्युतका दुई समस्या रहेका छन् । उत्पादित विद्युतको खपत कसरी वृद्धि गर्ने र सर्वसाधारण उपभोक्तलाई लोडसेडिङरहित विद्युत कसरी उपलब्ध गराउने । हुन त प्राधिकरणले लोडसेडिङ छ भनेर कहिल्यै भनेको छैन । लोडसेडिङको कुनै तालिका सार्वजनिक गरेको छैन तर अघोसित लोडसेडिङप्रति गम्भीरतापूर्वक जिम्मेवार बन्न सकेको पनि छैन । सञ्चार माध्यममा अघोषित लोडसेडिङको बारेमा समाचारहरु आइरहँदा यस विषयमा खासै गम्भीरतापूर्वक लिएर केही बोलको सर्वसाधारणले सुन्न सकेका छैनन् । वा, अघोषित लोडसेडिङलाई प्राधिकरणले गम्भीरतापूर्वक लिएको देखिएको छैन । यसै भएर प्राधिकरणको ध्यानाकर्षण गराउन केही जिल्लामा युवाहरु विरोधमा उत्रेका हुन सक्छन् । यो त प्राधिकरणकै हितमा छ भन्ने कुरो प्राधिकरणले पनि बुझ्नुपर्ने हो र लोडसेडिङमुक्त भइसकेको भनिएको देशमा सर्वसाधारण उपभोक्ताले यस्तो कुनै दिन छैन जुन दिन दुई चार पटक लाइन गएको देख्न नपरेको होओस् । घन्टौँ लाइन जान्छ । छिनछिनमा लाइन जान्छ । यसप्रति कोही जवाफदेही हुँदैन ।

नजिकको कार्यालयमा फोन गरेर सोध्दा एउटै जवाफ हुन्छ – माथि समस्या छ । प्राधिकरणमा माथि समस्या छ भन्ने अठोस जवाफले उपभोक्ता पीडित छन् । प्राधिकरणले माथि समस्या छ, कसरी हुन्छ, कम गर्नु परेको छ । कोही भन्दछन् कमाएर धनी बन्न सकिन्छ, अर्को थरि भन्दछन् बचत गरेर भनी हुन सकिन्छ । दुवै सत्य हुन् र दुवैमा समानता यो छ कि कमाउने हो भने मात्र बचत गर्न सकिन्छ । कमाउने हो र कमाउनेभन्दा बढी खर्च हुन्छ भने बचत हुन्न । यसैले कमाउने पनि हो र कमाए जति खर्च गर्ने पनि होइन अनि बचत हुन्छ । अर्थशास्त्रको सिद्धान्तले यही भन्दछ । पहिले हामी बिजुली पनि बाहिरबाट किन्थ्यौँ तर केही समयदेखि यो अवस्था विस्तारै कम हुँदै गएको छ । प्राधिकरणले भनेको छ कि आगामी वर्षदेखि कुनै पनि महिनामा बाहिरबाट विद्युत ल्याउनु नपर्ने गरी विद्युत उत्पादनको तयारी हुँदैछ । अहिले बितेको साउन महिनामा पहिलोचोटि प्राधिकरणले विद्युत निर्यात गरेर राम्रो आम्दानी गर्न सफल भएको छ । अबको दिनमा यो विस्तार भइरहन्छ । अहिले नाफामा रहेको बिजुली सार्क देशमध्ये भुटानभन्दा मात्र अलिकति महँगो छ र अन्य सबै देशभन्दा सस्तो छ भनिएको छ । एउटा सत्य त के हो भने गत आधा दशकमा विद्युत महसुलमा वृद्धि भएको छैन, बरु कम भएको छ । अन्य सबै सामानको भाउ बढेको छ तर बिजुली महसुल भने घटेको छ । अरुको तुलनामा मोबाइल फोनमा कुरा गर्दा लाग्ने शुल्कमा पनि खासै परिवर्तन भएको छैन तर यही भारतको तुलनामा भने हामीकहाँ मोबाइलमा कुरा गर्नु निकै महँगो भने अवश्य छ । बिजुलीको महसुल नबढ्दा पनि विद्युत प्राधिकरण नाफामा छ । विद्युत उत्पादन भइरहेको छ । हरेक वर्ष उत्पादन बढिरहेको छ । यस वर्ष नै करिब एक हजार मेगावाट थप उत्पादन हुने अनुमान रहेको छ ।

यसरी हरेक वर्ष विद्युतको उत्पादन बढिरहेको छ भने देशमै खपत पनि बडिरहेको छ । विद्युत कपितय अवस्थामा खेर जाने सम्भावना वा यथार्थ पनि रहेको छ तर विद्युतको वितरणमा भने समस्या रहेको छ जसले गर्दा निरन्तर अघोषित लोडसेडिङ भइरहेको छ । विद्युत उपभोक्ताले विद्युतको खपत अझ गर्न चाहेका छन् । विद्युतको खपत बढाउन चाहेको यसबाट पनि देखिन्छ कि धेरैले यसकारण आफ्नो भान्छामा इन्डक्सन चुलो ल्याइरहेका छैनन् कि यसको प्रयोग गर्न थाल्दा छिनछिनमा लाइन कट्ने समस्या हुँदा भान्छामा बस्नेलाई पनि समस्या हुन्छ । हो, धेरैले यो कुरो राम्ररी बुझेका छन् कि खाना पकाउने ग्याँसभन्दा बिजुली स्वास्थ्यको दृष्टिकोणले पनि निकै राम्रो हो तर भरपर्दो लाइन नहुँदा धेरैले विद्युतीय चुलोको प्रयोगमा हिच्किचाउनु परेको छ । प्राधिकरणले यसमा समयमा नै विशेष ध्यान दिनु आवश्यक छ । यद्यपि नेपाल सरकारले बजेटमा चालू आर्थिक वर्षमा हरेक परिवारलाई इन्डक्सन चुलो उपलब्ध गराउने निकै सकारात्मक घोषणा गरेको छ । यसले व्यावहारिक रुप लिन पुग्यो भने हरेक परिवारमा विद्युतीय चुलो पुग्दछ र विद्युतको प्रयोग स्वतः बढ्दछ तथा खाना पकाउने ग्याँसको प्रयोग स्वतः कम भएर जान्छ । आम शिक्षित जनसमुदायको दृष्टिमा वर्तमान परिवेशमा विद्युतको नियमितता नहुनुले सर्वसाधारण उपभोक्तामा केही निराशा छ । यही निराशा वा विद्युतको नियमित आपूर्तिमा अविश्वासको कारणले नै हुनुपर्छ सक्नेले इन्भर्टरको प्रयोग गरिरहेका छन् । एक जना रेडियो संचालक भन्दछन् : दिनको चार पाँच पल्ट लाइन गइरहने समस्याले गर्दा मेसिनमा निकै धेरै क्षति पुगेको छ । हो, यस प्रकारको अविश्वास वा अतिशयोक्तिपूर्ण विश्वास पनि देशको समृद्धिको सपनामा एउटा तगारो हो ।

पहिलेदेखि भनिँदै आएको छ कि नेपाल जलस्रोतमा धनी देश हो र जलस्रोतको उपयोग हुन सकेमा देश समृद्ध हुन सक्छ । अहिले जलस्रोतको उपयोग बढेको, पहिलेको भन्दा विद्युत उत्पादनमा निकै वृद्धि भएको तथा लोडसेडिङमुक्त देश घोषणा भइसकेको भए पनि भरपर्दो बिजुली हुन नसक्नु, छिनछिनमा लाइन जानाले विद्युतबाट चल्ने सामग्रीमा खराबी आइरहनुले प्राधिकरणले अझै सुधार गर्नुपर्ने अवस्था देखिन्छ । देश समृद्ध हुने अनेक बाटो यही ऊर्जाबाट खुल्ने भएकोले ऊर्जाप्रति नै भरपर्दो विश्वासको अवस्थाले देशलाई समृद्धिको बाटोमा डो¥याउने सपना देख्न सकिन्छ कि ।

Comment


Related News

Latest News

Trending News