२०७९ भाद्र १५, बुधबार ०९:१५

बारामा कालोबजारी गरी अनुदानको मल विक्री गर्ने एक सहकारी संस्थाको गोदाममा सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले कालोबजारी गरी अनुदानको मल विक्री गर्ने कलैया उपमहानगरपालिका–२३ भतौडा कोइरिया टोलस्थित कुश कृषि सहकारी संस्थाको गोदाममा सिल गरी संस्थाका अध्यक्ष अरुण कुश्वाहालाई नियन्त्रणमा लिएको छ । किसानले दिएको उजुरीको आधारमा शिलबन्दी गर्नुका साथै सहकारीमा राखिएको ५० किलोका २०९ बोरा र खोलिएको तीन बोरा मलसमेत बरामद गरेको छ ।सहकारी संस्थाका अध्यक्ष कलैया उपमहानगरपालिका–२३ बस्ने अरुण कुशवाहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए । २ हजार २५० रुपैयाँ पर्ने डीएपी मललाई सहकारीले २ हजार ८५० रुपैयाँमा बिक्री गरेको र बिलसमेत नदिएको उजुरी एक किसानले गरेका थिए ।

कृषि सामाग्री कम्पनीको कलैयास्थित कार्यालयबाट युरिया ७८० रुपैयाँ र डीएपी २ हजार २ सय ३० रुपैयाँमा बिक्री हुने गरेको छ । स्थानीय पालिकाले ढुवानी भाडा र प्रतिकिलो १ रुपैयाँ नाफा जोडेर तोकेको बिक्री मूल्यमा मात्रै डिलरले मल बिक्री गर्न पाउँछ । कृषि सामाग्री कम्पनी लिमिटेडको कलैया स्थित कार्यालयका प्रमुख पुरुषोत्तम सिंहले भने सहकारीले पालिकाले तोकेको दरमा मात्रै अनुदानको रासायनिक मल बिक्री गर्न पाउने बताए ।कालाबजारी गर्ने कृषि सहकारी संस्थाका सञ्चालक पक्राउँ परेपछि थप २० जना किसानले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

Comment


Related News

Latest News

Trending News