२०७९ भाद्र १६, बिहीबार ०९:३४

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। 

हरितालिका तीजको व्रत एवं पूजा आज महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ। रजस्वलाका समयमा  कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। 

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।

आज स्नानगरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ। आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्नका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ।

Comment

Related News

Latest News

Trending News