२०७९ भाद्र १८, शनिबार १२:४०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ।

यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ। आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन्। आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका थिए।

उनी भीआईपी पास प्रयोग गरी राहदानी चेक नै नगराइ विमानस्थलबाट बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ। त्यस्तै उनी विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडीमा गएको प्रहरीले जनाएको छ।

दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए। यूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीलाई लिन गएका बेला अन्सारीले आलमलाई आफ्नै गाडीमा हालेर होटेल पुर्‍याएका हुन् ।

दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ।

आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए । तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए। आलमलाई प्रहरी वृत गौशालाको हिरासतमा राखेको छ।

Comment


Related News

Latest News

Trending News