अपडेट 
२०७९ भाद्र १९, आईतवार ०७:१३

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न–४, डुमरिया स्थित रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरु पठनपाठन बन्द गरी आन्दोलनमा उत्रेका छन् ।

राहत कोटा अनुदानमा निमित्त प्रधानाध्यापकको पदमा कार्यरत शिक्षिका मीना यादवको सरुवा,विषय शिक्षक आपूर्ति तथा अभाव भएका कक्षा कोठाहरुको निर्माण गर्नुपर्ने माग राखेर उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरु पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रेका हुन्। उनीहरू आफ्ना मागहरु उल्लेख गरिएका प्लेकार्डहरु बोकेर नारावाजी गर्दै हरिपूर्वा नगर क्षेत्रको परिक्रमा समेत गरेका थिए । कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थीहरु अध्यनरत रहेका छन् । जसका लागि राहतकोटा अनुदानको एकजना प्रअ सहित दुईजना बालविकास कोटा र ५ जना स्वयंसेवक शिक्षक शिक्षिकाहरु गरी जम्मा ८ जना मात्र रहेका छन् । विद्यालयमा शिक्षकको अभाव र भौतिक संरचनाको कमीका कारण विद्यार्थीहरुको भविष्य अन्धकारमा परेको अभिभावकहरुले गुनासो गरेका छन् ।

शिक्षकको कमीका कारण अधिकाशं कक्षाहरु खालीनै रहने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । वडा न– ४ को वडाध्यक्ष नोखेलाल रायले राहत कोटामा कार्यरत निमित प्रअ मीना यादव पूर्व वडाध्यक्षको बुहारी भएको कारण उनी वडा अध्यक्ष रहेको बेलादेखिनै विद्यालयको व्यवस्थापन अव्यवस्थित रहेकोले विद्यालयलाई व्यवस्थित रुपमा संचालन गर्न आफूले प्रअ यादवको तुरन्त सरुवा गरी अर्को शिक्षक पठाउन नगरपालिका संग माग गरिसकेको बताए ।

उता राहत कोटामा कार्यरत निमित प्रअ यादवले भने राहत कोटामा नियुक्ति पाएका कर्मचारीको सरुवा नहुने भनि शिक्षा ऐनमै उल्लेख रहेको र विगत ३ वर्षदेखि आफू निमित्त प्रअ भएर काम गर्दा विद्यालयमा अहिलेसम्म कुनै पनि किसिमको विवाद नभएको बताइन् । उनले नव निर्वाचित वडाध्यक्षले विद्यालयमा राजनीति गर्न विद्यार्थीहरुलाई ललाई फकाई नारा जुलुस गर्न लगाएको आरोप लगाएकी छन् ।

Comment

Related News

Latest News

Trending News