
वन तथा वातावरणमन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।
शनिबार मन्त्री यादवले वीरगञ्ज– १५ स्थित भिषवामा निर्मित शीतलामाई मन्दिरको उद्घाटन गरेका हुन् । त्यस्तै,सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उनले उद्घाटन गरेका छन् । निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरुलाई पूजा अर्चनामा सहजता हुने मन्त्री यादवले विश्वास व्यक्त गरे । त्यसैगरी, विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृतिक र पारम्परिक कार्यक्रमहरु गर्न सहयोग पुग्ने उनले बताए । मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०÷३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एवम् जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवलगायत स्थानीय, बुद्धिजीवी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।