अपडेट 
२०७९ भाद्र २०, सोमबार १५:०१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ। सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो।

सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए। आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो।

सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको छ। युवा नेता गगन थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेका छन्। जनताको माग भएकैले उहाँको एकल नाम सिफारिस भएको हो,’ सिंहले भने ।

सर्लाही ४ मा संघीय सांसद कांग्रेसकै अमरेशकुमार सिंह छन् । तर, उनको नाम सिफारिसमा परेन। केही समयदेखि उनी कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरूको सम्पर्कमा समेत छैनन्। यस्तै, सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ। सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको सिंहले जानकारी दिए। (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत चार–पाँच जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो। सोही निर्वाचन क्षेत्रबाट उनी दुई पटक सांसद भइसकेका छन्। यसअघि कास्की १ क्षेत्रीय समितिले पनि नेता थापाको नाम संघीय सांसदका लागि प्रत्यक्षतर्फ सिफारिस गरेर पठाएको थियो।

Comment


Related News

Latest News

Trending News