अपडेट 
२०७९ भाद्र २४, शुक्रबार ०६:५२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकल बहुमत ल्याउने हिसाबले गठबन्धन हुने बताएका छन् ।

जनकपुरधाममा विहीबार आयोजित १०९ औ जयन्तीका अवसरमा आयोजित विपी विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अवका चुनौती विषयक विचार गोष्ठीलाई सम्वोधन गर्दै उनले कांग्रेस गठबन्धन गर्ने पक्षमा रहेको भन्दै एकल बहुमत ल्याउने हिसाबले गठबन्धन गर्नुपर्ने उनले विचार व्यक्त गरेका थिए । ‘कांग्रेस कम्तिमा सय सिट मागेको छ र गठबन्धनका अन्य दलहरु त्यति दिन तयार छैनन्,’उनले भने,‘तर एक दुई दिनमा टुंगो लाग्छ । कार्य दलले कुनै निर्णय सुनाउँछन् ।’ अहिले अफ्ठ्यारो परिस्थितिबाट कांग्रेस अगाडि बढिरहेको उनको विश्लेषण छ । अपवित्र गठबन्धन रहेको भन्दै विचार र सिद्धान्त नमिल्ने दलसँग बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको उनले बताए । ‘अहिलेको गठबन्धन अपवित्र छ । सतारुढ दलसँग केही पनि मिल्दैन,’उनले भने,‘विचार र सिद्धान्तको त कुरै न गरौं । त्यसकारण गठबन्धन कति पवित्र कति अपवित्र चुनाव पछि थाह हुन्छ । तपाईहरु चुनाव पछि सोध्नुहोला ।’ मिडिया काउन्सिल विधेयक र सत्य निरुपन छानबीन सम्बन्धमा व्यवस्था गर्न सरकारले ल्याउन लागेको विधेयक गलत भएको उनले बताए ।

पत्रकारले समाचार लेखेकै भरमा १० लाख रुपैयाँ तिर्नुपर्ने कुरा व्यावहारिक नभएको उनको भनाई थियो । तर पत्रकारलाई पनि सचेत भएर लेख्न उनले अनुरोध गरे । सत्ता पक्ष जहिले पनि आफ्नो नराम्रो सुन्न नचाहेको हुनाले यस प्रकारको विधेयक ल्याउन लागिएको उनले उल्लेख गरे । ‘कुनै पनि सरकारले प्रेस स्वतन्त्रता हनन गर्छ । जतिसुकै लोकतान्त्रिक सरकार भनिए पनि आफूलाई नोक्सान पु¥याउने समाचार प्रेसले नदियोस् भन्ने चाहन्छ,’ उनले भने,‘हाम्रो नेतृत्वको सरकार पनि त्यस्तै छ । प्रेस स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण पक्ष हो । प्रेस स्वतन्त्रता नभएको देशमा डेमोक्रेसी आउँदैन । त्यसकारण पत्रकारले १० लाख त के एक रुपैयाँ पनि तिर्नु पर्दैन ।’ सत्ताले प्रेसलाई दबाउने गरेको भन्दै उनले सञ्चारकर्मीले त्यसलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

Comment

Related News

Latest News

Trending News