
राजविराज । मुख्य बजार क्षेत्रमै रहेको सडक लामो समयदेखी जिर्ण हुँदा पनि सरोकारवाला निकायले जिर्णोद्धारतर्फ चासो नदेखाएको भन्दै आक्रोसित युवाहरुले सदरमुकाम राजविराजमा चक्काजाम गरेका छन् ।
मुख्य बजारको सिरहा रोड खण्डमा शहीद दशन चोकदेखी पश्चिम पाँच सय मिटर सडक लामो समयदेखी जिर्ण रहँदा आवागमन जोखिमपूर्ण बन्दै गएको र सम्बन्धीत निकायलाई यस बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएको भन्दै युवाहरुले राजविराज नगरपालिका र सो सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनी बिरुद्ध चर्को नाराबाजी गर्दै बिहान ११ बजेदेखी चक्काजाम गरेका थिए । ब्यस्त बजारमा बाँस नै तेस्¥याएर आवागमन रोकिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । प्रदर्शनमा सहभागी युवा खेलानन्द दासले सो सडकखण्डको निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले काममा ढिलाई गरिरहेको र राजविराज नगरपालिकाका जिम्मेवार अधिकारीहरु पनि मौन बसेकाले दाबाब दिन चक्काजाममा उत्रिनु परेको उनीहरुले बताए । यूवाहरुले चक्काजाम र प्रदर्शन गरिरहदा पुगेका वडा अध्यक्षद्वय शशि चौधरी र सुभाषचन्द यादव पनि सामेल भई समर्थन जनाएका थिए । उनीहरुले पनि ठेक्केदारको लापरवाहीका कारण निर्माण कार्यले गती लिन नपाएको आक्रोस पोख्दै ठेक्का लिने निर्माण कम्पनीमाथी कारवाहीको माग गरे । यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनको उपस्थितिमा प्रदर्शनकारी र ठेकेदार कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा निर्माण कार्य शनिबारदेखी नै सुरु गर्ने प्रतिबद्धता आएपछि दुई घण्टापश्चात् चक्काजाम फिर्ता लिइएको छ । वडा अध्यक्ष शशि चौधरीका अनुसार ठेकेदार कम्पनीले शनिबारदेखी नै काम सुचारु गर्ने प्रतिबद्धता जनाएपछि सहमति भई प्रदर्शनकारीद्वारा चक्का जाम कार्यक्रम फिर्ता लिइएको छ ।