रौतहट । गौर नगरपालिका वड़ा नम्बर ५ जिल्ला प्रहरी कार्यालयको नजिकै सञ्चालन रहेको अनाथ आश्रमबाट उद्दार गरिएको २ बालिका मध्ये एक जना नबालिकाको शरीरमा गर्भ निरोधकको अस्थायी साधन नरप्लान्ट फेला परेको छ ।
नेपाल भारत मैत्री वीरांगना फाउनडेशनद्वारा संचालित नेपाल भारत मैत्री अनाथ आश्रमबाट प्रहरीको सहयोगमा उद्दार गरिएकी १४ वर्षीय नबालिकाको शरीरबाट परिवार नियोजनको अस्थायी साधन नरप्लान्ट निस्किए पछि घटना सार्वजानिक भएको हो । काठमाण्डु स्थित राष्ट्रिय बालअधिकार परिषद्मा गत साउनमा घरभाडा नदिएको विषयमा घरपट्टीले दिएको निवेदनमा त्यहाँ राखिएका बालबालिकाले उचित संरक्षण नपाएको सन्दर्भ पनि गाँसिएको थियो। घर भाड़ा लिएर सञ्चालन गरिएको अनाथ आश्रममा राखिएको बालिका असुरक्षित तथा जोखिममा रहेको बुझिएपछि साउन १० गते परिषद्को मधेश प्रदेश समन्वय कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका प्रतिनिधि सहित रौतहट प्रहरी टोली नेपाल–भारत मैत्री अनाथ आश्रम पुग्दा गेटमा बाहिरबाट ताल्चा लगाइएको थियो । डेढ घण्टासम्म बोलाउँदा कोही बाहिर ननिस्किए पछि ताला फोडेर भित्र जाँदा आश्रमका सञ्चालक प्रभा सिंह कोठा भित्रै लुकेर बसिरहेकी थिइन्। ताल्चा ठोकिएको यही अनाथ आश्रमभित्र छिर्दा जघन्य आपराधिक कार्य लुकेको तथ्य भेटिएको वड़ा अध्यक्ष शिव शंकर यादवले बताएका छन् । आश्रममा रहेका तीन जनामध्ये दुईजना नाबालिक रहेको थियो । १३–१४ वर्षकी बालिकाको पाखुरामा परिवार नियोजनको अस्थायी साधन ‘नरप्लान्ट’ राखिएको भेटिएको छ। “नाबालिकाको शरीरमा गर्भनिरोधक अस्थायी साधन भेटिँदा हामी अचम्मित छौं। त्यहाँ बालबालिकालाई चरम यौन शोषण गरिएको हाम्रो शंका छ,’ परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसाल भन्छिन्।
अर्की सात वर्षकी बालिकालाई समेत यौनजन्य क्रियाकलापमा लगाएको भुसालले बताइन ्। गर्भनिरोधक अस्थायी साधन राखिएकी बालिकाले मनोसामाजिक परामर्शकर्तासँग आफूलाई एक दिनमै ८– ९ जनासँग यौनसम्बन्ध राख्न आश्रम सञ्चालकले प्रयोग गरेको बताएकी छन्। त्यस क्रममा एक–दुई पटक आफू बेहोससमेत बनेको बालिकाले खुलाएकी बारा स्थित रहेको बाल हेल्पलाइनले जनाएको छ । स्वास्थ्य परीक्षणपछि उक्त ‘नरप्लान्ट’ बाराको कलैया अस्पतालमा भदौ २० गते निकालिएको छ । बारा प्रहरीको रोहवरमा अस्थायी साधन निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। मनोसमाजिक परामर्शदाताले तयार पारेको डेढ पेजको रिपोर्टमा बालिकामा बलात्करपछिको मानसिक पक्षघातका लक्षण पनि देखिएको उल्लेख भए पनि रौतहट प्रहरी अहिले सम्म घटनामा संलग्न रहेकी संचालिका सिंहलाई नियंत्रणमा लिन सकेको छैन । बालिकाको शरीरमा परिवार नियोजनको अस्थायी साधन भेटिएपछि अनुसन्धान गरी कानूनी कारबाहीको सम्बन्धमा भन्दै परिषद्ले प्रहरी प्रधान कार्यालयलाई साउन २६ गतेमा पत्र लेखेको थियो। तर एक महिना कटिसक्दा समेत प्रहरीले अनुसन्धान गर्ने/नगर्ने टुंगोमै पुग्न सकेको छैन। परिषद् बाट पत्र आएको छ, तर जाहेरी नआई पत्रका आधारमा मात्रै मुद्दा चलाउन सकिन्छ कि सकिँदैन भन्ने दोधारमै छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी मल्ल भन्छन्, यो विषय अनुसन्धानमै छ भनौँ । कसरी अनुसन्धान बढाउने भनेर समन्वय पनि हुँदै छ।’ प्रहरीको भनाइबाट घटना लुकाउने नियत रहेको बुझ्न सकिन्छ ।
मुलुकमा देखिएका २ घटना पल साह र क्रिकेटर संदीप लामिछानेको विषयमा उजुरी दिने वित्तिकै प्रहरीले आरोपितलाई पक्राउ गरी छानबिन शुरू गरेको थियो तर रौतहट प्रहरीले सबै प्रमाण हुँदा हुँदै अहिलेसम्म मौन बसेकाले दोषी जोगाउने प्रहरीको प्रयास भइरहेको स्थानीयहरुको भनाइ रहेको छ । प्रहरी अनुसन्धानमा अलमल भइरहेकै बेला यो मुद्दा कमजोर हुनसक्ने संकेत पनि देखिएको छ । आरोपित पक्षले पीडितको जन्मदर्ता लगायतका कागजात मिलाउन खोजेको अधिकारकर्मीको आशंका छ । जन्मदर्ता र पीडितले भनेको तथा प्रहरी मुचुल्कामा उल्लेखित उमेर अन्तरसमेत फराकिलो छ । साउन १० गते अनाथ आश्रममा ताला तोडेर उठाएको प्रहरी मुचुल्कामा बालिकाको उमेर अन्दाजी १४–१५ वर्ष लेखिएको छ । तर, सच्याएर ल्याएको जन्मदर्तामा उमेर २२ वर्ष रहेको डीएसपी मल्लले बताए । सञ्चालिका प्रभा सिंह २०७५ सालदेखि अनाथालयको सञ्चालिका रहेकी छन् ।
जिल्ला प्रशासन कार्यालय, रौतहटका अनुसार नेपाल–भारत मैत्री वीरांगाना फाउन्डेसन अन्तर्गत रहेको अनाथलयले शाखा सञ्चालनको अनुमति पाएको छ। तर, छुट्टै दर्ता भने नभएको प्रमुख प्रशासकीय अधिकृत मणिभूषण साहले बताए । बालिकाले बाल हेल्पलाइनसँग आफू दुई वर्षदेखि उक्त अनाथालयमा बसिरहेको बताएकी छन्। अनाथालयका सञ्चालिका सिंहले भने भारत उपचार गर्न लैजाने कागजात बनाउनका लागि बालिकालाई २–३ महीनाअघि मात्र राखिएको दाबी गरिरहेकी छन् । उनले प्रहरीले फसाउन खोजेको समेत आरोप लगाएको छ । अनाथ आश्रममा अभिभावक नभएको तथा अलपत्र अवस्थामा परेको बाल बालिकाहरुलाई संरक्षण गरी राख्ने पवित्र ठाउँ हो तर रौतहटमा भएको यो घटनाले आश्रममा पनि बालबालिका पीडि़त सुरक्षित हुने अवस्था नरहेको महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ । घटनाको सम्वन्धमा छानबिन गरी कारवाही बढाउनका लागि प्रहरी नायव उपरीक्षक मल्लको नेतृत्वमा समिति गठन गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बूढ़ा मगरले जानकारी दिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZPWPOg7YOrg