२०७९ भाद्र २८, मंगलवार ०६:४०

महोत्तरी । मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै उनीहरुले जितियाको चर्चा र तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यसपालिको पितृपक्ष सोमबार नै प्रारम्भ भइसकेको छ । महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ ।

पितृपक्ष सुरु हुनासाथै बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा रहेको छ । अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा)पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिउञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । पहिले सन्तान (छोरा–छोरी)को कल्याण कामनार्थ गरिँदै आइएको यो व्रत पछिपछि पुत्रका नाममा हुन थालेको सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएकी जलेश्वर–२ का साधना बर्मा बताउछिन । यसपालि यो व्रत तिथिको भोग घटबढले आउने आगामी असोज १ गते परेको छ । आगामी शनिबार मध्याह्नलगत्तै अष्टमी तिथि लाग्ने हुँदा शुक्रबार मध्यरातपछि शनिबार बिहानै दही, चिउरा ‘ओगटन’ (दर) खाएर बर्तालुले निराहार व्रत सुरु गर्नेछन् । निराहार व्रत बस्ने महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एकघडी कटाएपछि व्रत समापन गर्नेछन् ।

यसपालि आइतबार मध्याह्नपछि नवमी तिथि प्रारम्भ हुने हुँदा सो दिन सूर्यास्तपछि व्रत समापन गर्न सकिने छ । उदाउँदो सूर्यका बेला समापन गरिने यो पर्व यसपालि भने सूर्यास्तपछि हुने भएको छ । व्रतमा एक अहोरात्र कटाउन पर्ने विधानले यसपालि जितिया व्रत ३६–३७ घण्टाको हुने भएको छ । कठोर विधानको यो व्रतको महिमा जनजिब्रोमै रहने गरेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताए । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दूको जनविश्वास रहेको छ । सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित पुत्रवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा रहेको छ । यस व्रतमा पुरुषहरूले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरूले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराकी ४० वर्षीया रासोदेवी थारू बताउछिन । सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिदै आइएको यो पर्वबारे अब पछिल्लो पुस्ताले बहस र तर्कवितर्क भने गर्न थालेका छन् ।

पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्य वृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्ताले बढाउँदै लगेका छन् । पर्वको महत्ता र गरिमालाई अझ मजबुत बनाउन अब सन्तानका लागि भनेर व्रतको कामना गर्ने परम्परा बसाल्न पर्ने महिला जागरण क्षेत्रमा क्रियाशील रहँदै आएका अधिकारकर्मीहरूको भनाइ छ । वास्तवमा पहिलेका आमाहरूले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर घुसाइएको बर्दिवास नगरपालिका–९ की सामाजिक, राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउछिन । आपूmले पछिल्ला २६ वर्षदेखि सुरु गरेको यो पर्व ‘पुत्र’का लागि मात्र नभएर सन्तानको कल्याणका लागि गर्दै आएको दिपीयाले बताइन । व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापर युगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।

राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको हुनसक्ने जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर रायले बताए । यसक्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि पछिल्ला चार वर्षयता मधेश प्रदेश सरकारले बिदा दिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News