अपडेट 
२०७९ भाद्र २८, मंगलवार ०६:४४

संजय कुमार यादव, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन अपवित्र शब्द रहेको टिप्पणी गरेका छन् ।

सोमवार जनकपुरधाममा आयोजित जनसभालाई सम्वोधन गर्दै उनले आफ्नो पार्टी नेकपा एमाले कुनै दलसंग गठबन्धन नगर्ने बताउँदै उनले भने, ‘आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक्लै मैदानमा उत्रने छ ।’ अध्यक्ष ओलीले नेकपा एमाले विरुद्ध बनेको पाँच दलीय गठबन्धन जनताको मत दुरुपयोग गर्नकालागि बनेको आरोप लगाए । धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा नेकपा एमालेले उम्मेदवार दिने जानकारी दिदै उम्मेदवार स्थानीय स्तरवाट तय भएर गएपछि टुङ्गो लाग्ने बताए । नेकपा एमाले संग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को गठबन्धन भएपछि धनुषा तीन लोसपाले पाउने कुरा आएपछि ओलीले धनुषा तीनमा पनि उम्मेदवार दिने प्रष्ट पारेका छन् । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सो क्षेत्रबाट चुनावमा जान खुट्टा कमाएपछि ओलीले उम्मेदवार दिन गर्जेका छन् ।२०७४ सालको संसदीय चुनावमा एमालेले सम्पूर्ण मत तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोमा खन्याएर निधिलाई पराजित गराएका थिए ।

उच्चस्रोतहरुका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ बाट राजेन्द्र महतो र जुली मध्ये एकजना मात्र उम्मेदवार हुने निश्चित छ । लोसपाका वरिष्ठ नेता महतोले उम्मेदवारी दिए जुली प्रदेश सभा चुनावमा कांग्रेसबाट प्रदेश सभामा भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामसरोज यादवसित भिड्ने छिन् । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा समावेश हुने लोसपाको प्रयास सफल हुन नसकेको अवस्थामा एमालेसित गठबन्धन हुने संभावना बढेको छ । मधेश प्रदेशमा एमालेले प्रतिनिधि सभाको १० सिट मात्र लिएर पनि लोसपालाई २२ सिट दिन सक्ने संभावनालाई अस्वीकार गर्न सकिदैन् । तर प्रदेश सभामा भने एमालेले बहुमत सिट ताक्ने पक्का छ । जुलीलाई प्रदेशमा चुनाव लडाएर एमालेले उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्ने संभावना रहेको लोसपाका नेताहरुको अनुमान छ । नेकपा एमाले र लोसपाका नेताहरु बीच आइतवार गठबन्धन सम्वन्धमा छलफल भएको थियो । नेकपा एमालेले लोसपाका शीर्ष नेताहरुको सिट सुरक्षित राख्नकालागि आफ्नो उम्मेदवार नदिने भएपछि छलफल सकारात्मक भएको थियो । तर, जनकपुरधाममा आयोजित कार्यक्रममा उनले उम्मेदवार दिने निश्चित गरेपछि उम्मेदवार को हुने विषय अन्योल बनेको छ । पोलिटब्यूरो सदस्य जुली महतोलाई उम्मेदवार उठाउने निर्णय एमालेले गरे धनुषा क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठका लागि घातक हुन सक्ने एमालेका नेताहरुको चिन्ता देखिएको छ । गठबन्धन नभए एमालेसित विकल्प पनि नरहेको उनीहरु बताउँछन् । हुनत उनले पटक पटक जनतासंग उम्मेदवारको नाम सोधेका थिए । तर ओली आफैले उम्मेदवारको बारेमा बोलेनन् । धनुषा ३ वाट जुली महतोको नाम सिफारिस गरिएको छ ।

लोसपावाट वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरिएको छ । कांग्रेसवाट पटक पटक सांसद भई सकेका पूर्व उप–सभापति विमलेन्द्र निधि आफ्नो नाम समानुपातिकमा सिफारिस गराएपछि धनाढ्य परमेश्वर महासेठको नाम सिफारिस गरिएको छ । नेकपा एमालेका अध्यक्ष ओलीले गठबन्धन नगर्ने बताए पनि प्रधानमन्त्रीसंगको छलफलमा ओलीले माओवादी केन्द्रलाई गठबन्धन बाहिर राख्न आग्रह गरेका थिए । विगत एक महिना देखि गठबन्धनको कार्यदलको बैठक निष्कर्षमा पुग्न सकेको छैन् । ‘ विगतमा गरिएको गठबन्धनबाट एमाले पाठ सिकिसकेको छ । गठबन्धन जनतालाई ठग्नकालागि गरिन्छ ’ उनले भने–‘जनतालाई ठग्ने सोचमा एमाले छैन् ।’ उसको मतले उ जित्ने, उसको मतले उ जित्ने भएपछि पार्टीको विचार, सिद्धान्तको कुनै औचित्य नरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, विचारहीन, सिद्धान्तहीनहरु गठबन्धन बनाएर जनतालाई ठग्ने छन् । एमालेले त्यस्ता कुनै काम नगर्ने उनले दावी गरे । पछिल्लो चुनावमा एमालेले नेकपा माओवादी केन्द्रसित गठबन्धन गरी एउटै घोषणापत्रबाट चुनाव लडेका थिए । त्यसमा नराम्ररी धोका खाएका ओली यसपटक सतर्क देखिएका छन् ।

Comment

Related News

Latest News

Trending News