
पानी नपर्दाखेरी वर्षाका लागि अन्तिम गुहार गर्ने सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित बावा वनसखण्डीको मन्दिर ओझेलमा परेको छ ।
धार्मिक पर्यटकीय स्थलको रुपमा विश्वास गर्ने भनिए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा ३ सय वर्ष इतिहास बोकेको सो मन्दिर ओझेलमा परेको हो । मन्दिरका मूल पुजारी ७२ वर्षीय कोकन दासका अनुसार खडेरीका बेला वर्षाका लागि जिल्लाका प्रशासक तथा जनप्रतिनिधि समेतको उपस्थितिमा पानी माग्दै विशेष पूजाआजा हुने गरेको छ । सालको रुखमा आँप फल्ने चमत्कारिक दृश्य देख्न पाइने यस स्थलमा मनोकाँक्षा लिएर श्रद्धालु भक्तजनहरुले पूजाआजा गर्ने र इच्छित मनोकामना पूरा हुने मूल पुजारी दास वताउँछन् । उनका अनुसार बाबा वनसखण्डीको ध्यान गर्दा कै अवस्थामा निधन भएका कारण सोही ठाँउमा उनको समाधि बनाएर मन्दिर स्थापना गरी पूजाआजा हँुदै आएको छ । सो स्थलको विकासका लागि ध्यानाकर्षण स्वरुप गाउँपालिकाको पहलमा बाबा वनसखण्डीको जन्मजयन्ती मनाउन थालिएको छ । गाउँपालिकाका प्रमुख विजय यादवले आफ्नोस्तरबाट प्रयास सुरु गरे पनि प्रदेश तथा संघीय सरकार समेतले यस प्रति चासो लिनु जरुरी रहेको छ । जन्मजयन्ती मनाउने क्रममा उक्त मन्दिरमा रहेको बाबा वनसखण्डीको समाधिस्थललाई सुसज्जित गरी पूजापाथ र धार्मिक अनुष्ठान थालिएको छ । यो क्रम एक साता सम्म चल्ने छ ।
यो जन्मजयन्ती महोत्सवले मन्दिरको प्राचीन इतिहास र यसको महिमालाई उजागर गरी यस स्थललाई धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्न टेवा पु¥याउने गाउँपालिका अध्यक्ष यादवको विश्वास छ । मन्दिरको स्थापनाको समयबारे यकिन गर्न सक्ने कुनै आधार नभए पनि ३ सय वर्ष पुरानो भएको अनुमान स्थानीयवासीको रहेको छ । आपूmहरुको कयौं पुस्तादेखि उक्त मन्दिर रही आएको स्थानीय बुढापाका बताउँछन् । स्थानीय ७५ वर्षीय ललित यादव भन्छन–परापूर्व कालदेखि नै यस मन्दिरमा स्थानीय मात्र होइन, खडेरीका बेला पानी माग्दै राजविराजबाट प्रशासक देखि जनप्रतिनिधिसम्म आउने गरेका थिए । सुरुमा फुसको संरचनामा रहेको मन्दिरलाई ०४८ साल कार्तिक १ गते स्थानीय समाजसेवी डोमी महात्माको सहयोगमा पक्कीमा परिणत गरिएको थियो । मन्दिर भित्र पुरातत्विक महत्वको शिलालेख पनि रहेको छ । यस्तै, प्राचीनकालकै एउटा पोखरी पनि मन्दिरकै छेउमा रहेको छ । जहाँको पवित्र जल लिएर भक्तजन पूजामा चढाउने गर्छन । उक्त पोखरी पनि बाबा वनसखण्डीले नै निर्माण गरेको स्थानीय बताउँछन ।