अपडेट 
२०७९ भाद्र ३०, बिहीबार ०७:३३

रामायण हिन्दूहरूका लागि एउटा महान धार्मिक ग्रन्थ हो । कैकेयी विना रामायणको कल्पना गर्न सक्ँदैन । कैकेयीलाई रामायणका पात्रहरूमध्ये एउटा प्रमुख पात्रको रूपमा लिने गरिन्छ । रामायणमा कैकेयीले पु¥याएका योगदानको संक्षेपमा यहाँ वर्णन गर्न गइरहेको छु । एकदिन मगध नरेशको दरबारमा एक ब्राह्मण अतिथि आएका थिए । ती ब्राह्मण सुतिरहेका बेला बालचपलताको कारण कैकेयीले ती अतिथि ब्राह्मणको मुखमा कालो मसी लगाइ दिइन् । कैकेयीको यस्तो चाला देखेर ती ब्रह्मण रिसले चूर भए । यसै रिसको झोंकमा कैकेयीलाई ब्राह्मणले मेरो मुखमा कालो दलेको हुँदा तिम्रो पनि कसैले मुख हेर्न नरूचाउने होस् भनी श्राप दिए । ती अतिथि दरबारबाट बिदा हुन लाग्दा कैकेयीले आदरका साथ कमण्डलु, लट्ठी तथा अन्य बस्त्रहरू दिइ सेवा गरेकीले उनको सेवाभाव देखेर अतिथि प्रसन्न भइ तिमीले गलत काम गरेकोले श्राप त भोग्नै पर्ने हुन्छ तर तिमीले चाहेको बखत तिम्रो यो बाँया हात बज्रसरह बलिष्ट होस् भनी वरदान दिइ बिदा भए । त्यही श्रापका कारण महारानी कैकेयीलाई त्यति ठूलो अपजस आइपरेको हो । देवासुर संग्राम भएको बेलामा राजा दशरथ देवताको तर्फबाट युद्ध लड्न निर्णय गरे । यसै निर्णय अनुसार देवता तर्फबाट युद्ध लडिरहेका बखत उनको रथको पाङ्ग्राको चुकुल खुस्किएको देखी आफूलाई प्राप्त बरदान सम्झी चुकुलको ठाउँमा आफ्नो हात राखी रथ पल्टिनबाट जोगाइ दिएकी हुनाले लडाइलाई निरन्तरता दिन सक्नु भयो र अन्तिमसम्म युद्ध गर्दा दानवहरूलाई परास्त गर्न सफल हुनु भयो । राजा दशरथ कैकेयीको यस्तो साहसिक कार्यबाट खुशी हुँदै दुईवटा वरदान दिएका थिए । कैकेयीले पनि राजा दशरथलाई के जबाव दिइन् भने समय आएपछि यी वरदान माग्ने छु ।

सोही वरको आडमा रामलाई बनवास र भरतलाई राजगद्दी माँग गरेकी थिइन् भने प्रायः सबै रामायणहरूमा वर्णन गरिएको पाइन्छ । कैकेयीलाई भगवान रामको इच्छाले नै वनवास जाने प्रपञ्च मिलाउन आज्ञा भएको थियो किनकि यदि कैकेयी बाहेक अरूसँग राजा दशरथलाई काबुमा लिइ मन, बुद्धि, चित्त, अहङ्कार पाँच ज्ञानेन्द्रिय, पाँच कमेन्द्रिय र चार भावेन्द्रियलाई जित्न सजिलो थिएन । रामका पिता दश रथी थिए । दश रथीको मतलब पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियलाई जिती ती इन्द्रियहरूलाई बशमा राख्न समर्थ थिए । त्यस्ता दशरथीलाई बाचाबन्धन गराइ राम जस्ता प्रतापी, सुशील, पितावत्सल, प्रजावत्सल, भक्तवत्सल राजकुमारलाई राज्याभिमुख गराई चौध वर्ष वनवास जस्तो कठोर दण्ड दिलाउन सक्ने सामथ्र्य कैकेयी बाहेक कसैमा थिएन । माता कैकेयी रामलाई सबैभन्दा बढी माया गर्नुहुन्थ्यो भने प्रमाण प्रायः सबै रामायणहरूमा पाइन्छ । यति मात्र कहाँ हो र ! यसको सबभन्दा ठूलो प्रमाण सीताको मुखदेखाइमा दिएको आफ्नो सबभन्दा बढी चाहेकी कनक भवन रहेछ । अहिले पनि अयोध्यामा विद्यमान छ । भाइ भाइ बीचको प्रेम, पत्नी पत्नी बीचको स्नेह, बुवा छोराहरू बीचको आज्ञाकारिता, आमा छोराहरू बीचको सम्बन्ध अन्य ग्रन्थहरूमा पाउन सकिँदैन । त्यसैले गर्दा रामायण एउटा यस्तो ग्रन्थ हो जसलाई प्रत्येक हिन्दूले निकै धेरै श्रद्धासाथ राख्ने गरिन्छ । एउटा भनाइ छ कि जसको घरमा रामायण छ उसको घरमा गलत कुराको प्रवेश निषेध हुन्छ । यसरी माया गर्ने रामलाई क्रुर बनी किन वनवास पठाइन् भने हाम्रा पाठक वर्गमा जिज्ञासा हुनु स्वभाविकै हो । त्यसर्थ यहाँ यस सम्बन्धमा केही गुह्य घटनाहरूलाई प्रकाश पार्न चाहन्छु । अर्कोतिर कैकेयीले रामलाई वनवास नपठाएको भए राम केवल अयोध्याका राजाको रूपमा मात्र रहन्थे होला । रामको प्रसिद्धिको प्रमुख कारण जंगलमा गएर विभिन्न खुँखार राक्षसहरूलाई बध गरी ऋषिमुनिहरूलाई स्वतन्त्रपूर्वक बस्ने वातावरण बनाइ दिनु थियो । सबैभन्दा बढी प्रसिद्धि रावण जस्तो बलशाली राक्षसलाई बध गरी अधर्मबाट धर्मलाई जेगाउने मात्र काम गर्नु भएन बरू सदाका लागि धर्मलाई स्थापित गर्ने काम गर्नु भयो ।

यस्तो काममा भाइ लक्ष्मण तथा पत्नी सीताको बढी सहयोग थियो । वन जाँदा पनि लक्ष्मण र सीताले साथ छोडेनन् । पत्नीहरूका लागि यो एउटा आदर्श उदाहरण हो । पतिलाई पत्नीको अर्धाङ्ग र पत्नीलाई अर्धाङ्गनी भनुको तात्पर्य पति र पत्नी एक अर्काका आधा–आधा अंग हुन् । हाम्रो हिन्दू ग्रन्थहरूमा पति र पत्नीको भूमिकाबारे राम्ररी उल्लेख छ । रामायणमा कैकेयीको भूमिकालाई कतिपय पाठक एउटा खलनायिकाको रूपमा लिने गरिन्छ । वास्तवमा रामायणको गुह्य अर्थ बुझ्ने पाठकले यस्तो अर्थमा नलिने देखिन्छ । कैकेयीले जे जति भूमिका गर्नु भयो । यी सबै रामको माँग अनुसार भएको देखिन्छ । रामले नचाहेको भए कैकेयीले कहिले पनि यस्ता कठीन वर माँग गर्ने थिएनन् । हुनत रामको वनवास नभएको भए दशरथको तत्कालै मृत्यु पनि हुने थिएन । पुत्रको शोकमा मर्ने प्राय निश्चित थियो । श्रवणकुमारका आमा बाबुको श्राप झूठो सावित हुन्थ्यो होला । यी सबै पूरा गर्न राम जस्तो अन्तर्यामी महापुरुषलाई गर्नु पर्ने वाध्यता पनि थियो । त्यसर्थ रामायणको पठन–पाठन तथा श्रवण गर्दा कैकयीको पनि शुद्ध भावनाका साथ आदर गरी उनको कर्मको सराहना गर्नु हामी सबैका लागि बुद्धिमानी ठहर्ने देखिन्छ । कहिले काँही जो हामी देखिरहेका हुन्छौं वास्तवमा त्यो कुरो रहेको हुँदैन । भीत्रको ज्ञानले हेर्नु पर्ने हुन्छ । यहाँ कैकेयीको बारेमा पनि हामी जबसम्म गहिरो अध्ययनले हेर्दैनौ तबसम्म हामीलाई उल्टो लाग्नु स्वभादिकै हो । अयोध्यामा तीनै रानीहरूमा कहिले पनि विभेद देखिएन । एक– अर्कालाई आफ्नै मान्नु यो भन्दा ठूलो उदाहरण अन्य ग्रन्थमा भेटिँदैन । हिन्दू धर्मका लागि मात्र होइन कुनै पनि धर्मानुरागीहरूका लागि आदर्शताको शिक्षा दिने सबैभन्दा उत्तम ग्रन्थ हो रामायण । हुनत भरतलाई ननिहालबाट बुलाउँदा निकै ढिलो भइसकेको थियो तबसम्म राजा दशरथको मृत्यु भैसकेको थियो । भरत अयोध्या आएपछि यस मृत्युका कारण मेरी आमा मात्र हुन् । यहाँलाई तथानाम गाली गलौज गर्न थाले । भरतलाई निकै ठूलो आहत प¥यो । एकातिर रामको वनवास, अर्कोतिर राजा दशरथको मृत्युले भरतलाई आमाप्रतिको घृणा अझै बढ्न गयो । दासी मथुरालाई शत्रुघ्नले मरणासन्न हुने गरी कुट्नु, कैकेयीलाई रक्षिणी भन्नसम्म छोडेनन् । जब राम बनवास जानुभयो तब रामको विछोडलाई सहन नसकी रामजीलाई बनवास त्यागेर राज्य सम्हाल्न बिन्ती गर्न तथा वनवासबाट फिर्ता गराउन जाँदाको वर्णन तथा भारद्वाज मुनिसँगको सम्मिलनको एउटा प्रसङ्ग उल्लेख गरिन्छ । भरतजीले विलाप गर्दै भन्नुभयो हे विधाता मेरो कैकेयीसँग मातृपुत्रको नाता लाग्नु ग्रहबाधा परेको हो । मेरो पिताको रामवियोग तथा आफ्नो रक्षिणी रानीबाट आफ्नै पतिको प्राणलाई निकाली जंगलमा फ्याक्नु अर्थात रामवियोगद्वारा मेरा पिताको मरण हुनु सन्निपात रोग लाग्नु हो । राम, सीता र लक्ष्मण वनवास हुनु भनेको विच्छीले डस्नु तथा डंक मार्नु सरह हो ।

फेरि यस राज्यको यत्रो ठूलो अपुरणीय क्षति हुँदा पनि मलाइ जबरदस्ती राजा बनाइ राज्य गराउन उद्धत हुनु मलाइ मदिरा ख्वाइ दिनु सरह हो अर्थात राज्य मेरालागि मदिरा समान हो । तीन आपत्ति एकै चोटी आउँदा मेरो मृत्यु किन भएन म जेनतेन बाँचिरहेको छु । मैले राज्य स्वीकारी राज्यारोहन गर्नु भनेको चौथो आपत्तिलाई निमन्त्रणा दिनु सरह हुन्छ । तसर्थ, म यस्तो राज्य गर्ने छैन भन्दै आफ्नो जन्मलाई पनि धिकार्नुभयो र भन्नुभयो यस्तो उत्तम कुलमा मैले जन्म लिए तापनि म जस्तो अधम कोही हुने भएन । संसारका यस्ता भाइ कसैका पनि न पहिले थिए न भविष्यमा हुनेछन् किनकि भाइ भाइमा केही सम्पत्तिका लागि त मारामार परी मुद्दासमेत पर्दछ भने यहाँ त गौरवशाली राज्यको प्रश्न छ । पृथ्वीदेखि आकाससम्म जयजयकारको ध्वनी गुज्जायमान हुन लाग्यो । सबै भरतलाई धन्यवाद दिन थाले । भरतले राम फर्की नआएसम्म रामको खराउलाई शिरमा राखी अयोध्या आइ आफू छुट्टै दरवार बाहिर नन्दीग्राममा खाल्डो खनी माथि खराउ राखी आफू खाल्डोमा शयन गरी कन्दमूल मात्र खाएर १४ वर्ष बिताएको कुरालाई बिभिन्न रामायणमा वर्णन गरेको पाइन्छ । निष्कर्षमा के भन्न सकिन्छ भने रामायणलाई सही अर्थमा बुझ्नु पर्दछ । कहिले काँही मान्छेहरू रामायणका पात्रहरू बारे टिका टिप्पणी सुन्दा वडो दुःख हुनु स्वभाविकै हो । रामायण यस्तो पवित्र ग्रन्थ हो जसलाई जहाँबाट हेरे पनि ज्ञान गुन तथा आदर्श व्यवहारकै कुरा हेर्न पाइन्छ । यहाँ कुरा कैकेयीको रहेछ । वहाँ एउटी साहसी, बहादुर तथा आदर्श नारी थिइन् । वहाँले जे जति गर्नु भयो रामकै प्रतिष्ठाका लागि गर्नु भयो । वहाँकै आदर्शताका लागि गर्नु भयो । त्यति मात्र होइन लक्ष्मणजीको पत्नी तथा सुमित्रा जस्ता साहसी महिलाको नाम नलिइ रहन सक्दिन्न । वहाँले लक्ष्मणजीलाई साहस प्रदान गरी जंगल पठाउनु कम साहसको काम होइन रहेछ । त्यसर्थ हामी रामायणमा जे देख्छौं वास्तवमा त्यो रहेनछ । यसको गुह्य रहस्य लुकेको देखिन्छ । यस्ता गुह्य रहस्यलाई नबुझीकन कैकेयीलाई गाली गर्नु बिल्कुल अभद्रता हो । अर्कोतिर राम यस संसारमा जन्म लिनु भनेको अधर्मीहरूलाई तह लगाउने हुनाले वहाँको कामलाई यसरी बुझी दिनु पर्दछ । त्यसर्थ अन्तमा दशरथका सम्पूर्ण परिवार आदर्शताका पात्र हुन । यहाँहरूलाई कोटि कोटि नम्न । इतिश्री । लेखक एउटा संस्कृति अभियन्ता हुनुहुन्छ ।

Comment

Related News