दिवङ्गतहरूको सम्झना गरिने पितृपक्ष (सोह्रश्राद्ध) कर्मकाण्डी पुरोहितको अहिले धपेडी (दौडधुप, भ्याइनभ्याई) छ ।
सोका कारण कर्मकाण्डी पेसाका पुरोहितलाई सन्चोबिसन्चको शिष्टाचार निर्वाहका लागि सोधपुछको समय मिलाउन पनि फुर्सद छैन । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराईदिनैपर्ने दौडादौडले पुरोहितहरूलाई भ्याइनभ्याई परेको छ । सोह्रश्राद्धमा आफ्ना दिवङ्गत आफन्तहरूको विशेष विधिबाट पार्वण श्राद्धगर्ने हिन्दू परम्पराका कारण एकै दिन चारपाँच ठाउँमा श्राद्ध गराउनुपर्ने भएपछि आपूmहरूका लागि एकछिन थकाइमार्ने समय पनि नभएको पुरोहितहरूको भनाइ छ । “हेर्नोस् न, आफ्नो पनि थोरतिन खेतीपाती छ, धान गोडमेल र मल छर्ने बेला छ यहीबेला पितृपक्षमा सबै यजमानकहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता पनि छ”, महोत्तरीको बर्दिबास नगरपालिका–२ का कर्मकाण्डी पेसाका पुरोहित ब्राह्मण दिनेशकुमार झा भन्छन, “गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै प¥यो, दौडादौडले आफ्नै घरका परिवारजनलाई पनि घरकाजका कुरामा सल्लाह गर्नसम्म भ्याइएको छैन ।” पितृपक्षका बितेका तीन दिन (भदौ–२६ आइतबारदेखि हिजो २८ गते मङ्गलबारसम्म) मा दैनिकजसो तीन÷चार घरमा तर्पण र श्राद्ध गराउनु परेको र यस पक्षका बाँकी दिनका लागि पनि दिनदिनै तीन÷चार ठाउँको बोलाहट रहेको झा बताउँछन् । दुई÷चार पैसा सञ्चयगर्न सकिने गरी आर्जनगर्ने समय पनि यही पक्ष भएको हुँदा दौडादौडी गरेर काम गर्नु परेको दिनेशका दाजु कर्मकाण्डी पेसाकै पण्डित महेशकुमार झाले बताए । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि, मातामह श्राद्धको अलग विधान र पूर्णिमा तिथि रहेका पितृहरूको पार्वण श्राद्ध पनि यसै पक्षभित्र हुने हुँदा १६ दिन पार्वण श्राद्धको परम्परा छ । पितृपक्षको अन्तिम दिन (औँसी सकिएर असोज शुक्ल प्रतिपदा टेक्ने दिन) मातामह (मावली बाजे) को श्राद्ध गर्नुपर्ने विधान छ ।
त्यसैगरी पूर्णिमा तिथि परेका पिताको पितृपक्षकै अष्टमी र माताको नवमी तिथिमा श्राद्ध गर्नुपर्ने कर्मकाण्ड पद्धतिले निर्देशित गरेको वैदिक परम्पराको कर्मकाण्ड ज्ञाता र भागवत व्याख्याता बर्दिबास–१ का बासिन्दा पण्डित (संस्कृतमा आचार्य गरेका प्राज्ञिक ब्राह्मण रामप्रसाद बराल बताउँछन् । हिन्दू वैदिक परम्पराअनुसार गरिने पार्वण (महालय) र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवङ्गत भएकाहरूको गरिने) श्राद्ध दिवङ्गत आफन्तहरूको तिथि धेरैजसो यजमान (श्राद्ध वा वैदिक कार्य आयोजन गर्ने (कर्ता) को घरमा एकै दिनपर्ने भएकाले आपूmहरूलाई यस पक्षमा दौडादौडी पर्ने गरेको कर्मकाण्डी पुरोहितहरू बताउँछन् । सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न दुई घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) भने कम्तीमा साढे तीन घण्टा लाग्ने गरेको छ । एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ । तर, पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै सङ् कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र थपमा गुरु, सासू÷ससुरा, अविवाहित दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको महोत्तरीकै भङ्गाहा नगरपालिका–३ का पुरोहित ब्राह्मण विष्णुप्रसाद शर्माले बाताए । हिन्दू धर्मावलम्बीहरूको मुख्य चाड मानिने दसैँ, तिहार र छठ अघिको सोह्रश्राद्धमा दिवङ्गत पितृहरू मत्र्यलोक (पृथ्वी) मा विचरणगर्न आउने र यसबेला आफ्ना सन्तानले दिएको तर्पण (कर्मकाण्डी विधिले पितृलाई पानी अर्पणगर्ने कार्य) तथा पिण्ड (गाईको दूधमा पकाइएको खीरलाई डल्लो बनाई पितृलाई अर्पण गरिने वस्तु) तत्काल ग्रहणगर्ने विश्वास गरिन्छ । यस अवधिमा पितृहरूको स्मरणले देवीदेवता प्रसन्न हुने मान्यता रहेको छ । सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम् विषयमा दखल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका छन् । अझैसम्म लोकलाई देखाउनै भए पनि कतिपयले श्राद्ध र अन्य वैदिक कार्यको आयोजनागर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किलपर्ने अवस्था देखिन लागेको छ ।
“अब त पुरोहित ब्राह्मण भेट्नै मुस्किल भइसक्यो” महोत्तरीकै भङ्गाहा–४ का ८० वर्षीय रामनन्दन महतो भन्छन, “नयाँ पुस्ताका सबै अर्कै पेसामा लागेका देखिन्छन्, पुराना पुस्ताका पुरोहितहरूको शेषपछि खै के थामिएला हाम्रो चलन ?” समयको प्रवाहसँगै अन्य कामदार सरह आपूmहरूको पारिश्रमिक र मर्यादा नहुँदा अव आफ्ना छोराछोरीलाई कर्मकाण्डी क्षेत्र छोडाएर अन्य विषय पढाउन थालिएको पाका कर्मकाण्डी ब्राह्मण स्वीकार गर्छन् । कर्मकाण्डीका काममा परेर बोलाउँने गुरु यस्तो काम गरिदिन प¥यो भन्ने तर, पुरोहितलाई दिइने दक्षिणामा टीकाटिप्पणी गर्ने प्रवृत्ति बढेको छ । यता वैदिक परम्पराका अनुयायीको भने आफ्नो पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनपर्ने सुझाव छ । दुनियाँका अन्य मुलुकमा आ–आफ् ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नु जस्तै सबैले ठान्नुपर्ने देखिन्छ । कर्मकाण्ड र वैदिक परम्पराभित्र घुसारिएका उचनीच भनिने चलन, जातिपाती तथा छुवाछूतको रूढी परम्परा र ‘बिरालो बाँध्ने’ जस्ता विकृत चलन हटाउनुपर्नेमा भने अव बूढापाका पनि सहमत देखिदै छन् ।