अपडेट 
२०७९ भाद्र ३०, बिहीबार ०७:३९

रौतहटको माधवनारयण नगरपालिकाको सातौं नगरसभाको बन्दसत्रले २६ वटा निर्णयहरु पारित गरेको छ ।

नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको दुई महिनापछि बुधवार मात्र बन्दसत्र सम्पन्न भएको हो । बन्दसत्र सम्पन्न भएसँगै नगरपालिकाको सातौं नगरसभा पुर्णता पाएको छ । यसअघि गएको असार महिनामै नगरसभा हुँदा पनि बन्दसत्र हुन नसक्दा नगरसभाले पूर्णता पाउन सकेको थिएन । माधवनारायण नगर प्रमुख बैजुप्रसाद यादवको अध्यक्षतामा नगरपालिकाको कार्यालय माधोपुरको सभाहलमा आयोजना गरिएको बन्दसत्रबाट २६ वटा निर्णयहरु पारित गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० का लागि नगरसभाको बन्दसत्रमा प्रस्तुत गरिएको विभिन्न २६ वटा प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए । नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण, नगरभरि विद्यालय व्यवस्थापन समिति गठन गर्ने, नगर प्रहरी व्यवस्थापन, नगरभित्र नक्सा पास गरी मात्र भवन निर्माण, गैर सरकारी संस्था मार्फत कार्य गर्ने गराउने देखि लिएर विभिन्न महत्वपूर्ण निर्णयहरु बन्दसत्रबाट छलफल गरी बहुमत सहित पारित गरिएको नगर प्रमुख यादवले प्रष्ट गरे । बन्दसत्रमा छलफलका लागि पेश गरिएको निर्णयहरु कार्यपालिका सदस्यको दुई तिहाई भन्दा बढी बहुमत सहित पास गरिएको उनको दाबी छ । ५१ सदसीय कार्यपालिका सदस्य रहेकोमा मेयर सहित ४३ जना सदस्यले बन्दसत्रको निर्णयमा हस्ताक्षर गरेको बताइएको छ । तर नगर उपप्रमुख निर्मला देवी रमन सहित दुई जना वडा अध्यक्ष सहित सात जना कार्यपालिका सदस्यले बन्दसत्रको निर्णयमा हस्ताक्षर गरेका छैनन् ।

उपमेयर सहित सात जना कार्यपालिका सदस्यले हस्ताक्षर नगरेपनि अन्य ४३ जना कार्यपालिका सदस्यले हस्ताक्षर गरेकोले बहुमत पुगेकाले सो निर्णयहरु पारित भएको बताइएको छ । यसैबीच नगर उपप्रमुख निर्मला देवी रमन जयसवाल सहित वडा नं ६ का वडा अध्यक्ष राम नरेश यादव, वडा नं ७ का वडा अध्यक्ष दिलिप यादव सहित ७ जना कार्यपालिका सदस्यले उक्त बन्दसत्र बहिष्कार गरेका छन् । नगर प्रमुख बैजनाथ प्रसाद यादवले आफूहरुसँग कुनै सरसल्लाह नै नगरी एकलौटी रुपमा पहिला पनि नगरसभा गरेको र अहिले पनि बन्दसत्र आह्वान गरेको भन्दै नगर उपप्रमुख जयसवालले बन्दसत्र बहिष्कार गरेकी छन् । दुई जना वडा अध्यक्ष राम नरेश यादव र दिलिप यादवले पनि बन्दसत्रको विरोध गरेका छन् । मेयर यादवले एकलौटी रुपमा बन्दसत्र आह्वान गरेको भन्दै एकलौटी रुपमा गरिएको बन्दसत्रको निर्णय आफूहरुलाई स्वीकार्य नरहेको उपमेयर जयसवालले बताइन् ।

Comment


Related News

Latest News

Trending News