अपडेट 
२०७९ भाद्र ३१, शुक्रबार ०७:२८

जनकपुरधामको प्रादेशिक अस्पतालमा अत्याधुनिक मडुलर अपरेशन थिएटरको समुद्घाटन गरिएको छ ।

विहीवार एक कार्यक्रममाबीच मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा सो मडुलर अपरेशन थिएटरको समुद्घाटन गरेका हुन् । अपरेशन थिएटरको समुद्घाटन गर्दै मन्त्री साहले मधेश प्रदेश सरकार प्रदेशको हरेक अस्पतालमा उपचार पद्वतिका लागि आवश्यक अत्याधुनिक सम्पूर्ण उपकरण र सुविधा उपलब्धताका लागि तत्पर रहेको बताए । मन्त्री साहले सरकारले उपकरण, पूर्वाधार पूरा गरेर मात्र नहुने भन्दै अस्पतालहरुले त्यसको प्रयोग र सदुपयोगका लागि दक्ष जनशक्तिको व्यवस्था र सो सुविधाको सही सदुपयोग गर्न सक्नु पर्ने बताए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले मडुलर अपरेशन थिएटरको व्यवस्थापन पछि मुटु, मस्तिष्क, स्पाइन सर्जरी सहितका संवेदनशील शाल्यक्रियाहरु सहज र सुरक्षित तरिकाले हुन सक्ने बताए । उद्घाटन गरिएको मडुलर अपरेशन थिएटरमा हरेक घण्टा छ जना सम्मको अपरेशन हुन सक्ने बताइएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरधामलाई जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्थापन गरिरहेको छ । मडुलर अपरेशन थिएटर जनकपुरधाममै पहिलो पटक सञ्चालनमा आएको दाबी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News