अपडेट 
२०७९ आश्विन २, आईतवार ०७:०७

रौतहटको गुजरा नगरपालिका वडा नं ६ खत्वहिया स्थित तरहारी नदीको अधुरो पुल समयमा निर्माण नहुँदा स्थानीयहरुलाई सास्ती खेप्नु परेको छ ।

खत्वहिया–कटहरिया जोडने सो नदीको पुल लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बर्षाको समयमा स्थानीयले सास्ती भोग्नुपरेको छ । गुजरा नगरपालिकाको खत्वहिया र कटहरिया नगरपालिकाको छेदी चोक बजार जोड्ने उक्त तरहारी खोलामा विगत ४ वर्षअघि नै पुल निर्माणको काम सुरु गरिएको थियो । झण्डै ९ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको सो पुलको तत्कालीन संघीय सरकारका मन्त्री रघुवीर महासेठले शिलान्यास गरेका थिए । मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका पेटी ठेकेदार आश महम्दले दुई वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने जिम्मा पाएका थिए । आर्थिक वर्ष २०७५÷०७६ को योजनाअनुसार उक्त खोलामा दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माण सुरु गरिएको भए पनि हालसम्म निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले वर्षेनि सास्ती भोग्नुपरेको स्थानीयवासी बताउँछन् । पुल निर्माण सुरु भएको चार वर्ष बित्न लाग्दासमेत पूर्णता नपाउँदा स्थानीय अक्रोशित बनेका छन् । ठेकेदार महम्मदले पुल निर्माण गर्ने जिम्मा पाएको चार वर्षभन्दा बढी भएपनि सो पुल हालसम्म निर्माण सम्पन्न गर्न नसक्दा स्थानीयहरु सास्ती व्यहोर्न बाध्य भएका हुन् । ठेकेदार महम्मदले पुल निर्माणको काम बीचमै अलपत्र छाडेर बेपत्ता भएका कारण वर्षोदेखि पुल निर्माण अलपत्र परेको स्थानीयहरुले बताएका छन् ।

पुलको आधा भाग निर्माण सम्पन्न भए पनि आधा भाग त्यतिकै रहेको छ । वर्षातका समयमा पुल नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको गुजरा नगरपालिका–६ का स्थानीय अगुवा जफरुल अन्सारीले बताए । सो खोलामा पुल नभएका कारण वर्षायाममा छेदीचोक आउन डुमरीया, पोखरीया हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उनले जानकारी दिए । आवागमनको वैकल्पिक व्यवस्था नरहेकाले पुल निर्माण नहुँदासम्म वर्षातमा खत्वहिया, छेदीचोक क्षेत्रका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । पुल निर्माण नहुँदा वर्षातमा सवारीसाधन आवागमन ठप्प हुने गरेको छ । त्यसैले समयमा पुल निर्माण कार्य सम्पन्न गर्न स्थानीयहरुले सम्बन्धित निकायसँग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News