विद्यालयको पेन्ट चोरी गरेको आरोपमा रौतहटका एक प्रधानाध्यापक सहित दुईजना सर्लाहीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका–५ शिवनगर घर भएका प्रधानाध्यापक वीरेन्द्र झा र शिक्षक गरुडा नगरपालिका ७ का हरिशचन्द्र किशोर मलिक रहेका छन् । सर्लाहीको बलरा नगरपालिका–४ मा अवस्थित रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक झालाई आइतवार बलरा चोकबाट पक्राउ गरिएको छ । रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयको भवन पेन्ट गर्नका लागि ल्याइएको पेन्ट चोरी गरी आफ्ना घर रौतहटको शिवनगर ल्याउने क्रममा उनलाई पक्राउ गरिएको छ । प्रधानाध्यापक झाले विद्यालयको पेन्ट आफना घरमा प्रयोग गर्न चोरी गरी ल्याइरहेका थिए । उनले विद्यालयको पेन्ट चोरी गरी आफ्ना घर रौतहट लगिरहेको अवस्थामा बलरा नगरपालिका ४ का वडा अध्यक्ष मणिभूषण सिंह सहित स्थानीयहरुले उनलाई पक्राउ गरी सीमा प्रहरी चौकी बलरामा बुझाएका थिए ।
प्रधानाध्यापक झाले भारतीय स्कारपिओ गाडीमा उक्त पेन्ट लोड गरी लगिरहेको अवस्थामा स्थानीयहरुले गाडी रोकेर चेकजाँच गर्दा गाडीबाट १० प्रकारका पेन्टको २० वटा बाल्टी बरामद भएको प्रहरीले जनाएको छ । पेन्ट लोड गरिएको उक्त गाडी सहित प्रधानाध्यापक झा र सोही गाडीमा सवार रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका शिक्षक हरिशचन्द्र किशोर मलिक समेतलाई पक्राउ गरिएको वडा अध्यक्ष सिंहले बताए । पक्राउ परेका प्रधानाध्यापक झा, शिक्षक मलिक, पेन्ट र गाडीलाई आवश्यक कार्यवाहीका लागि सिमा प्रहरी चौकी बलराका सई मोहनमणि कटुवाललाई बुझाएको सिंहले बताए ।

