सिरहा नगरपालिका–७ हेमनारायण चोक स्थित श्रवण किराना पसलमा म्याद सकिएको दालमोठ फेला परेको छ ।
हेमनारायण चोकमै बस्दै आएका अजित शर्माले श्रवण किराना पसलबाट खरिद गरेको दालमोठको प्याकेट फुटाउदा म्याद सकिएको फेला परेको छ । शर्माले महावीर फुड्स प्रोड् क्टस चोहर्वा सिरहाले उत्पादन गरेको शुभाशीष ब्राण्डको दालमोठ खरिद गरी ल्याएका थिए । ‘जहिले पनि थोकमै दालमोठ किन्दै आएको छु । ४ वटा ठूलो प्याकेट खरिद गरी ल्याए । सोही दिन साँझ नास्ता खाने बेलामा प्याकेट फुटाएर खाँदा अर्कै स्वाद लाग्यो,’ शर्माले भने, ‘अरु दिन भन्दा अर्कै स्वाद लागेपछि चेक गर्दै जाँदा २०१९ लेखिएको म्यादलाई मेटाएर २०२२ को स्टाम्प लागेको देखियो ।’ म्याद सकिएको दालमोठ वडा प्रहरी कार्यालयका प्रमुख राजेश यादवले लगेको शर्माले बताए । कार्यलय प्रमुखले लगेको करिब महिना हुन लाग्यो तर कारवाही केही भएको छैन, छानबिन भयो कि भएन ? आफूलाई केही जानकारी नआएको उनले बताए । सिरहाको चोहर्वामा रहेका महावीर फुड्स प्रोड्क्टसले उत्पादन गर्दै आएको शुभाशीष ब्राण्डको दालमोठ केही हप्ता अघि मात्र थोकमा खरिद गरेको श्रवण किराना पसलका संचालक श्रवण साहले बताए । ‘ हामी थोकमा किन्छौं । बाहिरी भागमा म्याद देखिदैन्,’उनले भने,‘भित्र के थियो । त्यति विचार गरिएन थोकमै बेचियो । म्याद सकिएको दालमोठ परेछ भन्ने कुरा पछि बुझियौं ।’ उनका अनुसार दालमोठ वडा प्रहरीको जिम्मा लगायौं । त्यसपछि के के भयो आफूलाई केही जानकारी नभएको उनले जानकारी दिए । म्याद सकिएको दालमोठ उपभोक्ता र किराना पसलबाट ल्याइ जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको वडा प्रहरी कार्यालय सिरहाका प्रमुख राजेश यादवले बताए । ‘जानकारी पाएपछि म्याद सकिएको दालमोठ हामीले बुझायौं । हाम्रो काम बुझाउने हो,’उनले थप्दै भने,‘त्यसबारे थप के भयो भएन् । त्यो सबै कुरा जिल्ला प्रहरीलाई मात्रै थाहा होला । हामीलाई केही थाहा भएन् ।’ म्याद सकिएको दालमोठ फेला परेको घटनाबारे बुझ्न सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहलाई दर्जनौं पटक फोन गर्दा उनको फोन उठेन् ।
दालमोठ मात्र नभइ यसरी सिरहा बजारमा म्याद सकिएको दैनिक उपभोग्यका सरसमान फेला परिरहन्छ तर सरोकारवाला निकायले छानबिन गरी कारवाही गर्नुको साटो भित्र–भित्रै कुरा बुझेर बुझ पचाउ भन्दै आएको उपभोक्ताहरुले गुनासो गरेका छन् । म्याद सकिएको सरसमान फेला पर्दा घटना मिलाउनका लागि केही सरोवारवालाले सम्बन्धित संचालकसँग नजराना समेत लिने गरेको उनीहरुले आरोप लगाएका छन् ।

