जनकपुरधाम उपमहानगरपालिकाको मटकोरबा पोखरी सौन्दर्यकरण गर्न माग गरिएको छ ।
मटकोरबा पोखरी तथा प्रगति मार्ग टोल सुधार समितिले ऐतिहासिक पोखरीलाई सौन्दर्यकरण गर्न माग गरेको हो । सो पोखरीको पौराणिक कालदेखिकै इतिहास भए पनि सरकारले बेवास्ता गर्दै आएको स्थानीयको गुनासो छ । यद्यपि स्थानीय टोल समितिले पोखरीलाई सौन्दर्यकरण गर्ने पहल सुरु गरिसकेका छन् । प्रदेश सरकारले पनि सौन्दर्यकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । ‘पोखरी सौन्दर्यकरणका लागि प्रस्तावित भएको हुनाले यसमा फोहर फालेको पाइएमा रु पाँच सय पाँच रुपैयाँ जरिवाना लाग्ने छ,’ लेखिएको सूचना जारी गरी सजग गराइएको छ । सोमबार नव गठित मटकोरबा पोखरी तथा प्रगति मार्ग समितिको पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । समितिका अध्यक्ष पदमा तेज नारायण चौधरी, अशोक कुमार महतो, सचिव राम बहादुर सिंह, सह सचिवमा संजीवकुमार सिंह र कोषाध्यक्षमा प्रकाशचन्द्र झा रहेका छन् । यसअघि अर्जुन पौडेलको नेतृत्वमा समिति रहेको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले पोखरी सौन्दर्यकरणको लागि जोड दिए । मिथिलाको इतिहाससँग जोडिएको हुनाले यसतर्फ स्थानीय सरकारले पनि लगानी गर्ने उनले बताए । स्थानीयले पोखरी वरिपरि भगवान शिवको मन्दिर निर्माण गर्नका लागि नगर प्रमुखलाई आग्रह गरेका थिए । तर उनले मन्दिर निर्माणमा सकारात्मक रहेको भन्दै भएको पोखरीलाई संरक्षण र पूजापाठ गर्न समस्या भइरहेको छ । कार्यक्रममा उपप्रमुख किशोरी साहसहित वडाध्यक्षहरु पनि सहभागी थिए ।