२०७९ आश्विन ५, बुधबार ०६:४०

बाराको गौरीशंकर माध्यमिक विद्यालय निजगढ सामुदायिक विद्यालय कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा उत्कृष्ट भएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले बारामा गरेको कार्यसम्पादन परीक्षणमा गौरीशंकर माध्यमिक विद्यालय निजगढ ७९.५७ अङ्क ल्याइ पहिलो,नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय सिमरा ७१.७१ अङ्क ल्याइ दोस्रो र गौरीशंकर माध्यमिक विद्यालय सड्क टोल ७१.१५ अङ्क ल्याइ तेस्रो भएका छन् । यी तीन वटा सामुदायिक विद्यालयहरु कार्यसम्पादनमा मध्यमस्तरमा परेका छन् । विज्ञहरू खटाएर शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत विद्यालयहरुको अध्ययन गरेको थियो । देशभरि ४ हजार ८ सय ६७ सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा ६ वटा उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजार सामान्य र ७१ ओटा कमजोर विद्यालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बारा जिल्लाभरिमा ८५ ओटा सामुदायिक माध्यमिक विद्यालयमध्ये तीनवटा विद्यालय मध्यम स्तरमा परेका छन् । बारा जिल्लाका ६ वटा सामुदायिक माध्यमिक विद्यालय कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य विद्यालय भने सामान्यमा परेका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले विद्यालयहरुको कार्यसम्पादन मूल्याङ्कन गर्दा विद्यालयको भौतिक संरचना ,समुदायको सहभागिता ,शिक्षण सिकाइ प्रक्रिया ,शैक्षिक उपलब्धि ,नेतृत्व व्यवस्थापन लगायत क्षेत्रको मूल्याङ्कन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News