यसअघि नै मुलुकभरिकै मठहरूको नायक मठ लक्ष्मीनारायण मठ परिसरमा झुलाघर निर्माण र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माणकार्य सम्पन्न भइसकेका छन् ।
मटिहानी–जनकपुर (रामजानकी) सडक र मटिहानी–जलेश्वर सडकमा निर्माण भएका कलात्मक प्रवेशद्वारले यस ठाउँको सांस्कृतिक र धार्मिक महत्वलाई उजागर गरेको छ । “हामीसँग भएको मुख्य कुरा नै यस ठाउँको धार्मिक र सांस्कृतिक परिचय हो, मटिहानीको विकासको आधार धार्मिक पर्यटनमै खोजिनुपर्छ र अहिले यी कामले प्राथमिकता पाएका छन्”, मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझी भन्छन, “पछिल्ला पाँच वर्षयताका विकास पूर्वाधारका काममा धार्मिक महत्वका कामले महत्व पाएका छन् ।” मटिहानीमा गत वर्षमात्रै अत्याधुनिक रङ्गशाला निर्माण सम्पन्न भएको थियो । यहाँको धार्मिक र सामाजिक सद्भावको उदाहरण हरकोहीले दिने गर्दछन् । आधुनिक मटिहानी निर्माणमा हिन्दू परम्पराका साधु तश्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले जग बाँधेको हुँदा यहाँ दुवै परम्पराका चाडपर्व एकापसमा मिलेर उल्लाससाथ मनाइने गरिएको मटिहानीका बासिन्दा शिक्षा तथा संस्कृतिविद् चन्देश्वर साहको कथन छ ।
“लक्ष्मीसागरको उत्तरतटमा लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर छन्, पश्चिमीदक्षिणी तटमा सन्त पिरबाबाको मजार छ”, उनले भने “यी स्थल हाम्रा साझा तीर्थस्थल हुन्, पिरबाबाको मजारमा दुःख पुकारा गर्न पुग्नेमा हिन्दू–इस्लाम धर्मावलम्बी रहने गरेका छन् ।” आफ्नो ठाउँका मुख्य