पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावध कुमार नेपालले रौतहटको विकासका लागि आफू जित्नुको विकल्प नरहेको बताएका छन् ।
रौतहट आफनो गृह जिल्ला रहेकाले यहाँका नागरिकसँग आफनो प्रेम रहेको र विगतका दिनमा आफूले यो जिल्लामा ठूल–ठूला विकास निर्माणका कामहरु गरेकोले थप विकासका लागि रौतहटबासीले आफूलाई एकपटक पुनः जिताउनुको विकल्प नरहेको उनले बताए । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनतर्फबाट यसपालि रौतहट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने तयारीका साथ चुनावी मैदानमा उत्रिसकेका अध्यक्ष नेपालले रौतहट क्षेत्र नं १ को गढिमाई नगरपालिकाको वरियारपुर, धर्मपुर र सिंगारमनमा मंगलवार आफना नेता कार्यकर्ताहरुसँग भेटघाट गर्दै यस्तो बताएका छन् । एकीकृत समाजवादीको जिल्ला कमिटी रौतहटद्धारा वरियारपुरमा आयोजित भेटघाट कार्यक्रममा नेता नेपालले क्षेत्र नं १ सहित रौतहटको समग्र विकासका लागि आफूलाई पुनः एकपटक जिताउन स्थानीयहरुसँग आग्रह गरे ।
यसअघि आफू प्रधानमन्त्री हुँदा रौतहटको बागमती नदीको विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको धरहरीमा ठूलो मेडिकल कलेजको रुपमा धरहरी पोलिटेक्निक इनस्टिच्यूट स्थापना गराउनुको साथै जिल्लाको विभिन्न ठाउँमा ठूलो मात्रामा विभिन्न विकास निर्माणको कार्य गरेको उदाहरण दिदै उनले गर्नुपर्ने अझै धेरै कामहरु गर्न बाँकी रहेकोले ती कामहरु पूरा गर्नका लागि आफूलाई जिताउन सबैलाई आग्रह गरे । गत २०७४ सालमा काठमाण्डु २ बाट चुनाव लडे् का माधव नेपाल यसवर्ष गृह जिल्ला रौतहट क्षेत्र नं १ बाट चुनाव लड्दै छन । निर्वाचनको मिति नजिकिएसँगै नेता नेपालले अहिलेदेखि नै निर्वाचन केन्द्रित गतिविधिमा लागेका छन् । गठबन्धनले समेत नेपाललाई क्षेत्र नं १ बाट टिकट दिन सहमत भइसकेकोले नेता नेपालले अहिलेदेखि नै रौतहट क्षेत्र नं १ मा आफना नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यमा व्यस्त हुन थालेका छन् ।

