
हत्याको अभियोगमा आजिवन काराबासको सजाय पाएको रामचन्द्र प्यासीलाई आममाफि दिएको बिरोधमा बुधबार प्रदर्शन भएको छ ।
नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा अदालतबाट आजिवन काराबासको सजाय पाएका रामचन्द्र प्यासी रिहा भएको तेश्रो दिन बाराको परवानीपुरमा प्रदर्शन गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफि गरेसंगै गत सोमबार प्यासी वीरगन्ज कारागारबाट रिहा भएको छन् । हत्याको मुख्य योजनाकारको रुपमा अदालतबाट दोषी ठहर भइ जन्मकैदको सजायमा विगत ९ वर्षमै प्यासी रिहा भएपछि आलमका परिवार र स्थानीय आममाफिको बिरोधमा ओर्लेका हुन । नेकपा एकिकृत समाजवादी पार्टिको अध्यक्ष माधव नेपालको बिशेष पहलमा प्यासीलाई जेलमुक्त गराइएको पिडित परिवारको आरोप रहेको छ । नेकपा एमालेको भातृसंगठनको रुपमा रहेको मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका आलमको २०७० साल असोज १८ गते परवानीपुरमा गोली हानी हत्या गरिएको थियो ।
दोश्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नंबर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको २४ घण्टा नबित्दै आलम माथि परवानीपुरमा गोली प्रहार भएको थियो।
चुनावी प्रचारमा हिँडिरहेका बेला आलमलाई मोटरसाइकलमा आएका ब्यक्तिले गोली प्रहार गरेका थिए । घाइते आलमको असोज २४ गते उपचारको क्रममा काण्ठमाडौंमा निधन भएको थियो ।
आलमको हत्यालगत्तै अनुसन्धान थालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्यासीलाई २०७० कात्तिक ९ गते सिमराबाट पक्राउ गरेको थियो। उनकै योजनामा अन्य मनोज पाण्डे, विपिन यादव, अतिक खान र राजु श्रीवास्तव भन्ने व्यक्तिले आलममाथि गोली प्रहार गरेका हुन । प्यासी जेलमुक्त भए पनि अन्य भने सजाय भुक्तान गरिरहेका छन्।
उच्च अदालतले प्यासी र मोटरसाइकल चालक पाण्डेलाई आजीवन कारावास र अन्यलाई १० वर्षको कैद फैसला सुनाएको थियो।