अपडेट 
२०७९ आश्विन ५, बुधबार १९:२८

दोश्रो पटक पनि संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्‍दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति जनकपुरमा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जनकपुरमा चक्काजामसहितका छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेको हो ।

लोसपाले जनकपुरको पीडारीचोकमा एक घण्टा चक्काजाम गरी विरोध जनाएको छ । राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेको भन्दै लोसपाले राजीनामा माग गरेको छ ।

लोसपा सम्बद्ध लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले राजीनामा नदिए चर्को आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै जसपा र तमलोपाका नेता कार्यकर्ताले जनकपुरमा प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् ।

छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा राष्ट्रपति भण्डारीको पुतला जलाउँदै जसपा र तमलोपाले राजीनामासमेत माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News