अपडेट 
२०७९ आश्विन ६, बिहीबार ०७:१७

सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।

बुधवार न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैद्य र डाल कुमार खड्काको संयुक्त इजलासले सो फैसला गरेको छ । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । उच्च अदालत जनकपुरधाममा ६ दिन सम्म भएको सुनुवाईले जिल्ला अदालतकै फैसला हुबहु सदर गरेको अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार जाहेरवालाको तर्फबाट उच्च सरकारी वकिल कार्यलयबाट सह न्यायाधिवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेम बहादुर कार्की र राज लाल यादवले बहस गरेका थिए । यस्तै, प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्र, विनोद शर्मा, चन्द्र मैनाली, धर्मेन्द्र शर्मा, प्रकाश कुमार घिमिरे, अधिवक्ता ओमप्रकाश सिंह, बलराम सुवेदी, सुदीप कोइराला, सुरेन्द्र महतो र रिंकु कुमारी यादवले बहस गरेका थिए । जिल्ला अदालतले संजय साह र सुटर मनक लामालाई जन्मकैद फैसला सुनाएको थियो । साहको नजिकका भनिएका एकलाल भन्ने योगेन्द्र सहनी, चन्द्रदीप भनिने चनरदिप यादव र पवन लामालाई दश/दश वर्ष सजायको फैसला गरेको थियो भने रामविनोद यादवलाई तीन वर्ष सजाय तोकिएको थियो । सोही फैसला सदर भएको छ ।

यी पाँचै जनालाई जिल्ला अदालतकै फैसला अनुसार सजाय हुने उच्च अदालतले फैसला सुनाएको छ । सोही मुद्दामा मुकेश चौधरी र रामकरण यादवलाई जिल्ला अदालतले त्यति बेला नै सामान्य जरिवाना गरेर रिहा हुने फैसला सुनाएको थियो । सिंघानियाको ०६६ साल फागुन १७ गते होलीका दिन गोली हानी हत्या भएको थियो । हत्या भएको दश वर्षपछि जिल्ला अदालतमा मुद्दाको सुनुवाई प्रक्रिया अगाडि बढाइएको थियो । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपि संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । सो मुद्दा यही सातादेखि सुनुवाई भई फैसला भएको हो । उच्च अदालतले पनि अदालतले तीन वर्ष पुग्नै लाग्दा सुनुवाई सुरु गरेका थिए । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News