अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरुको अधिकार सुनिश्चितताकोलागि बाराको सिमरामा जिल्ला स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बारा नेत्रहीन संघ र नेपाल अपाङ्ग सेवा संघको सहकार्य र पहिचान नेपालको आयोजनामा भएको कार्यशाला गोष्ठीमा महिलाहरुले अपाङ्गता भएकै कारण भोग्दै आएको समस्या र अपहेलनाको बिषयमा चर्चा गरेको थियो । उनीहरुले अपाङ्गता भएकै कारण समाजका सदस्यहरुबाट दुव्र्यवहार, बिभिन्न लाञ्छना लगाउने, शिक्षा मैत्री बाताबरण बन्न नसक्दा शिक्षा लाई अगाडि बढाउन नसकेको, खेलकुदमा अब्बल हुनेलाई उचित सम्मान र पुरस्कार सरकारले दिन नसकेको लगायतको समस्याहरु अपाङ्गता भएका महिलाहरुले उठान गरेका थिए । बारा जिल्लाका बिभिन्न स्थानीय तहका प्रमुख र उप–प्रमुखहरुले आ आफनो स्थानीय तहमा अपाङ्ग मैत्री बाताबरण बनाउने र क्षमता अभिबृद्धिकोलागि तालिम र सीप प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमलसिनाले लागूऔषध ओसारपोसार र समान तस्करीमा अपाङ्गता भएका ब्यक्तिहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको बताएका थिए । कानूनले अपराध गर्ने जुनसुकै ब्यक्तिलाई अपराधी मान्ने गरेका कारण यस्तो गलत कार्य गर्न नहुनेमा जोड दिए । प्रहरी नायब उपरीक्षक तिमलसिनाले अपाङ्गता भएका ब्यक्तिहरुलाई सार्बजनिक सवारी साधनमा राज्यले बिशेष छुट दिएका कारण त्यस्तो छुटको परिपालन नगर्ने सवारीसाधनहरुलाई कारवाही हुने बताए । जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला अधिकारीले अपाङ्गता भएका ब्यक्तिहरु अधिकार मान्दै गर्दा आफूले कर्तब्य पालना गर्नुपर्नेमा जोड दिएका थिए । आफ्नो क्षमतालाई तालिम र सीपको माध्यमबाट बृद्धि गर्नुपर्ने धारणा उनले राखेका थिए ।
मधेश प्रदेसका प्रदेश सभा सदस्य शोभा लामाले निर्वाचित अपाङ्गता भएका ब्यक्तिहरुको पहलमा प्रदेश सरकारले अपाङ् गता भएका ब्यक्तिलाई चालु आर्थिक बर्षमा ल्यापटप बितरण गर्ने कार्यक्रम राखेको जानकारी दिएकी छन् । नेपाल नेत्रहीन संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष खोम राज शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै अपाङ्गता भएका एकल र पिछडिएका महिलाहरुले सम्मानमा आएको समस्याको बिषयमा अवगत गराएका थिए । कार्यशाला गोष्ठीमा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम प्रसाद क्षेत्री, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्ले, निबर्तमान अध्यक्ष धन प्रसाद बजगाँई, महिला, बालबालिका,ज्येष्ठ नागरिक तथा अपाङ्ग बिकास शाखाका अधिकृत दुर्गा न्यौपाने, नेपाल नेत्रहीन युवा संघका उपाध्यक्ष शिव चापागाई, समाजसेवी शोभा कार्की लगायतको सहभागिता रहेको थियो ।