
मधेश प्रदेशमा चार दिनदेखि राष्ट्रपतिविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै मधेशवादी दलहरु निरन्तर प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकमा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टीको नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति विद्या देवी भण्डारीको राजिनामा माग गर्दै नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । राष्ट्रपति भण्डारी नेकपा अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको जसपासहित मधेशवादी दलको आरोप छ । ‘राष्ट्रपति राजिनामा देउ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधानलाई पालना गर र संविधान उल्लंघन गर्न पाइदैनन’ लगायतका नारावाजी गरेका थिए । जसपा नगर अध्यक्ष विष्णुदेव साहको नेतृत्वमा भएको प्रदर्शनमा जसपा नेता ज्ञानेन्द्र यादव, चमेली देवी दास र जितेन्द्र यादव लगायतको उपस्थिति थियो । गएको मंगलबारदेखि मधेश प्रदेशका जिल्लाहरुमा लोकतानित्रक समाजवादी पार्टी (लोसपा), तराई मधेश लोकतान्त्रि पार्टी (तामलोपा) र जसपाको नेता तथा कार्यकर्ताहरु प्रदर्शन गर्दै आइरहेका छन् । नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने उनीहरुको माग छ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाबाट दुई पटक पारित भएर गएको विधेयक प्रमाणीकरण गरेका छैनन् । नेताहरुले प्रदर्शन कार्यक्रममा राष्ट्रपतिविरुद्ध चर्को भाषणसमेत गरेका थिए । संविधान उल्लंघन गरेर पदमा बस्नु आवश्यक नरहेको भन्दै नेताहरुले राजिनामा माग गरेका थिए ।