२०७९ आश्विन ९, आईतवार ०६:५८

कुनैबेला मधेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विरोध गरिएको नारा दिनहुँ सुनिन्थ्यो ।

ओलीका तस्बीर र पुतला जलाइन्थ्यो । उनी विरुद्ध ठाउँ–ठाउँमा कार्यक्रम हुन्थ्यो । कतिपय ठाउँमा प्रवेश गर्न पनि रोक लगाइएको थियो । तर अहिलेको परिवेश र परिस्थिति फरक भइसकेको छ । उनलाई स्वागत गर्ने र एमालेमा प्रवेश गर्न मधेशकै नेताहरु आतुर छन् । गत स्थानीय निर्वाचनको मत परिणाम र एमालेमा प्रवेश गरेको विवरणले यी तथ्यलाई पुष्टि गरिरहेको छ । ओली केही समय यता मधेशमा पार्टी र संगठन सुदृढ गर्न निकै सक्रिय देखिएका छन् । वरिष्ठ नेता माधव नेपाल समूह पार्टीबाट अल्गिएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनको दौडधुप मधेशमा बढेको हो । ओली दश दिनकै अन्तरालमा तीन पटक मधेश प्रदेश आएका छन् । तीनै पटक यहाँका प्रभावशाली नेताहरुलाई एमालेमा प्रवेश गराएका छन् । ती मध्ये दश जना प्रभावशाली नेता एमाले प्रवेश गरेको देखिन्छ । ‘विगतको तुलनामा हामी यहाँ धेरै मजबूत भएका छौं । पहिला नाम नै नसुन्न चाहनेहरु अहिले दैनिक नाम जपिरहेका छन्,’एक नेताले भने,‘यी परिर्वतन एमाले अध्यक्षकै कारणले आएको हो । उहाँको विचार र अडान लिन सक्ने क्षमताका कारण आएको हो ।’ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म एमाले अझै मजबूत हुने उनको आकलन छ । पा“च सांसद एमालेमा सांसदहरुको समय अवधि सकिन लागेपछि केही दिनभित्रै पाँच जना सांसद एमालेमा प्रवेश गरेका छन् । मधेश प्रदेशबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका तीन सांसद एमालेमा प्रवेश गरेका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) की प्रतिनिधि सभासदस्य रुही नाज भदौ २७ गते एमाले प्रवेश गरिन् । सर्लाही जिल्लाकी रुही नाज गत असार महिनामा जसपा छाडेर बाबुराम भट्टराई नेतृत्वको नेसपातर्फ लागेकी थिइन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रतिनिधिसभा सांसद उमाशंकर अरगरिया पनि असोज ८ गते (शनिबार) एमाले प्रवेश गरे ।

०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अरगरिया तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए । जसपा विभाजनका बेला उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए । सोही क्षेत्रबाट लोसपाले अरगरियाको एकल नाम सिफारिस गरेको थियो । केपी शर्मा ओलीकै पालामा उनी शहरी विकास तथा पर्यटनमन्त्रीसमेत बनेका थिए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अरू दलसँग तालमेल गर्न लोसपाले वार्ता समिति गठन गरेको थियो । त्यो वार्ता समितिका संयोजक पनि अरगरिया नै थिए । जसपाकी प्रदेश सांसद डा.रीना यादव पनि यही असोज १ गते एमालेमा प्रवेश गरिन् । तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेकी उनी दल विभाजनपछि उपेन्द्र यादव नेतृत्वको जसपा रोजेकी थिइन् । उनी जसपा केन्द्रीय सदस्यसमेत थिइन् । भदौ १ गते जसपाको कोटाबाट उनी प्रदेशसभाको विकास समितिको सभापतिमा पनि चयन भएकी थिइन् । सभापति बनेको एक महिना बितेपछि उनी एमालेमा प्रवेश गरेकी छन् । जसपाकै अर्का सांसद अञ्जु कुमारी यादव पनि भदौ २७ गते जनकपुरधामको जनसभामा एमालेमा प्रवेश गरिन् । उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन् । जसपाबाट अल्गिएर लोसपा गठन हुँदा उनी जसपा नै रोजिन् । तर पार्टीको गतिविधि भन्दा अलग थिइन् । उनलाई एमाले यस पटक समानुपातिक सांसद बनाउन वचन दिएको चर्चा छ । मधेश प्रदेशका अर्का सांसद प्रल्हाद गिरी पनि एमाले प्रवेश गरिसकेका छन् । पर्साबाट निर्वाचित गिरी तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । दल विभाजन हुँदा उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए ।

उनी पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए । जसपाका केन्द्रीय सदस्य रामउदित राम, शम्भु साह र कांग्रेसका पूर्व–उपसभापति सन्तोष यादवले पनि चुनावको मुखमै एमालेमा प्रवेश गरेका छन् । टिकट पाउने सम्भावना नदेखेपछि नेताहरु धमाधम पार्टी फेरबदल गरिरहेका छन् । कतिपय नेताहरु समानुपातिकमा नदोहरिने प्रावधानका कारण पनि एमाले प्रवेश गरेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News