२०७९ आश्विन ९, आईतवार ०७:०३

अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यौनिक तथा लैगिंक अल्पसंख्यकलाई पनि सहभागिता गराउनु पर्ने माग गरिएको छ ।

शनिबार जनकपुरधाममा निल हीरा समाज धनुषाले एक कार्यक्रम गरी निर्वाचन दलहरुले सहभागी गराउनु पर्ने माग गरेको छ । राजनीतिक दलहरुले यी समुदायलाई उपेक्षामा राखिएको ट्रान्सजेण्डर नगमा खातुनले गुनासो गरे । ‘राजनीतिक दलहरुले हाम्रो मत स्वीकार गरेका छन् । तर हामीलाई उम्मेदवारको रुपमा किन स्वीकार गर्दैनन् ?,’उनले भने,‘के हामी वडा सदस्य लायक पनि छैनौं ?’ आसन्न निर्वाचनमा राजनीतिक दलहरुले यस पटक समानुपातिक वा प्रत्यक्ष कोटामा स्थान दिएर सुरुवात गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कुल जनसंख्याको आठ प्रतिशत यी समुदायको जनसंख्या रहेको उनको दाबी छ । ‘संविधानले हाम्रो पनि सहभागिता हुनुपर्ने अधिकार दिएको छ । तर राजनीतिक दल र नेताहरु दिन मानेका छैनन्,’उनले भने,‘कुनै समय आशीर्वाद दिन आफूहरुलाई निम्ता गर्ने समुदाय भोलि पल्टैबाट घृणा गर्न थाल्छन् । यी समस्या समाधान गर्न राजनीतिमा आफूहरुको पनि सहभागिता हुनुपर्छ ।’

यी समुदायका व्यक्तिले भोगिरहेको समस्याको विषयमा आवाज उठाउन, अधिकार प्राप्त गर्न र सम्मानका रुपमा बाँच्न राजनीतिमा सहभागिता हुनुपर्ने उनको तर्क छ । कार्यक्रममा दुई वटा अध्ययन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा मुख्य राजनीतिक दलहरुको विधान र चुनावी घोषणापत्र बारे अधिवक्ता प्रतिमा शर्माले गरेको अध्ययन सम्बन्धी प्रतिवेदन र राजनीतिमा सहभागिताको अधिकार विषयमा अधिवक्ता सविन श्रेष्ठले अध्ययन गरी बनाएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News