सेप्टेम्वर २७ अर्थात् विश्व पर्यटन दिवस महोत्तरीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिएको छ ।
आगन्तुकलाई भोजन र आवासमा भारी छुट दिने घोषणा पनि गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिवासस्थित संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लामा पहिलो पटक पर्यटन दिवसलाई भव्यताका साथ मनाउन औपचारिक तयारी गरेको छ । ४३ औँ पर्यटन दिवस मनाउन दुबै आयोजकले संयुक्त रूपमा सार्वजनिक गरेको कार्यतालिका अनुसार दिवसको शुभारम्भ असोज १० गते अपराह्न बर्दिवासको निकटवर्ती धार्मिक स्थल पञ्चधुरा माइको मन्दिरबाट गरिने छ । महोत्तरीको दक्षिणवर्ती भिट्ठामोड नाकाबाट नेपाल भित्रिने विदेशी आगन्तुकलाई प्रवेश बिन्दुमै खादामाला लगाएर स्वागत र मिठाई ख्वाएर सत्कार गर्ने कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ । आयोजकले भोजनमा १५ प्रतिशत र आवासमा २५ प्रतिशत छुट दिने छ । समारोहको दोस्रो दिन असोज ११ गते ‘सभ्यताको विकासमा पर्यटनको महत्व’ बारे जागरूकता अभिवृद्धि गर्न बर्दिवासमा ¥याली र प्रभात फेरी आयोजना गरिनेछ । सोही दिन जिल्लाको समग्र जातजातिको भेषभुसा र संस्कृति झल्कने सडक महोत्सवको समेत तयारी गरिएको होटल व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सुदीप कार्कीले बताए ।
जिल्लाको मटिहानी, जलेश्वर, औरही र बर्दिवासमा धार्मिक, पौराणिक र पुरातात्विक महत्वका मठ मन्दिर भएकाले महोत्तरीले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ । यी धर्मस्थल नेपाल–भारत ‘रामायण सर्किट’ अन्तर्गत पर्ने भएकाले विशिष्ट पर्यटकीय महत्व बोकेको बताइन्छ । ‘पर्यटन महोत्सवको माध्यमले यी र यस्ता अन्य गन्तव्यको पहिचान र परिचय विस्तार गर्ने विश्वास लिएका छौ’ बर्दिवासस्थित संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हीरा गौतमले जानकारी दिए ।


