२०७९ आश्विन १०, सोमबार ०७:१५

बौधिमाई नगरपालिकाकामा ढुंगामुढा भएको छ । आइतबार शंकर माध्यमिक विद्यालय र आधारभूत विद्यालयका विद्याथीहरूले ढुंगामुढा गरेका छन् ।

नगर प्रमुख प्रदीपकुमार यादवले शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो । नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको उपचार जारी छ । प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । विद्यार्थी र प्रहरीबीच करिब डेढ घण्टा ढुंगा हानाहान भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेको छ । विद्यार्थीहरूले गरेको ढुंगामुढाबाट पालिकाको कम्युटर, टेबुल, कुर्सीलगायतका सामानहरूसमेत तोडफोड भएको मेयर यादवले बताए । उनले जनता समाजवादी पार्टी र एमालेका नेताहरूको उक्साहटमा आफूमाथि आक्रमण प्रयास भएको आरोप लगाएका छन् । केही वडाध्यक्ष र प्रध्यानाध्यापकले विद्यार्थीलाई प्रयोग गरी आक्रमण गराएको उनको आरोप छ । उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित छन् । आधारभूत विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवमाथि पनि उनले आरोप लगाएका छन् ।

विद्यार्थीहरुलाई उकसाएको उनीमाथि आरोप छ । यस्तै, वडा नम्बर ७ का वडाध्यक्ष जसपाबाट निर्वाचित नरेन्द्रकुमार सिन्हा र कांग्रेसबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष विन्देश्वर राय यादवसहितको व्यक्तिको निर्देशनमा पालिकामा आक्रमण भएको नगर प्रमुख यादवको आरोप छ । ‘विद्यार्थीको आडमा जनप्रतिनिधि र शिक्षकहरुले आक्रमण गरेका छन् । प्रहरीले सुरक्षा नदिएको भए मेरो ज्यान जोखिममा थियो,’उनले भने,‘प्रदर्शनमा घुसपैठियाहरु सहभागी भएका थिए’ ।

Comment


Related News

Latest News

Trending News