प्रदेश र प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनका लागि पाँच दलीय गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभाको प्रतिवेदन तयार गरेको छ ।
कार्यदलले मंगलवार तयार गरेको प्रतिवेदनमा प्रदेश सभाको ८० प्रतिशत सिटमा सहमति जुटेको बताइएको छ ।प्रतिनिधि र प्रदेश सभाको २० प्रतिशत सिटमा विवाद देखिएको छ । सिट बाँडफाँट कार्यदलका सदस्य रहेका जनता समाजवादी पार्टी(जसपा)का प्रवक्ता मनिष सुमनले जनाए अनुसार कार्यदलले प्रतिवेदन तयार गरिसकेको छ । ‘प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन तयार गरिसकेको छ’ उनले भने, पाँच दलका शीर्ष नेताहरुलाई बुधवार प्रतिवेदन बुझाइने छ । कार्यदलले तयार गरेको प्रतिवेदनमा सहमति जुट्न नसकेको निर्वाचन क्षेत्रमा दाबी गरेका दलहरुको नाम समेत उल्लेख गरिएको उनले बताए ।‘विवादित देखिएका सिटहरुमा दाबी गरेका दलहरुको नाम राखिएको छ’ सुमनले भने, सहमति जुटिसकेका सिटमा पनि विवादितलाई मिलाउने क्रममा सामान्य हेरफेर हुन सक्छ । सिट बाँडफाँटमा सर्वाधिक विवाद मधेश प्रदेशमा देखिएको उल्लेखगर्दै नेता सुमनले भने, मधेश प्रदेशमा जसपाको जनाधार भएको क्षेत्रमा कतै नेपाली कांग्रेस र कतै माओवादी केन्द्रले दाबी गरेका छन् ।उनीहरुले दाबी नछाडेकै कारण सम्पूर्ण रुपमा सहमति हुन नसकेको उनले बताए । मधेश प्रदेशमा प्रतिनिधि सभाको ३२ र प्रदेश सभाको ६४ सिट प्रत्यक्षतर्फ रहेको छ ।प्रतिनिधि सभाको सिटमा जसपाले बढी नै त्याग गरेको आरोप सो दलका नेताहरुले लगाइरहेको बेला कांग्रेस र माओवादी केन्द्रले मधेश प्रदेशमा समेत किचलो गरेको बताइएको छ ।
मधेश प्रदेश बाहेकमा जसपाको धेरै अडान रहेको छैन् ।तर कांग्रेस, माओवादी र नेकपा एसबीच विवाद देखिएको नेता सुमनले जनाए । कांग्रेस र माओवादी केन्द्रले मधेश प्रदेशमा प्रतिनिधि र प्रदेशमा दाबी गरे अनुसार जसपाले सिट छाडे पार्टीमा जबर्जस्त विद्रोह हुन सक्ने जोखिम देखिएको छ ।जसपाले सहजै जित्न सक्ने सिटमा समेत कांग्रेसले दाबी गरेको आरोप जसपा नेताहरुको छ । कार्यदलले सहमति जुटाउन नसकेको सिटमा सहमति जुटाउन शीर्ष नेताहरुलाई पनि सहज छैन् ।कांग्रेसमा संस्थापन पक्षको विरुद्ध शेखर कोइराला समूहले विद्रोह गर्ने चेतावनी दिन थालेका छन् । मधेश प्रदेशमा आवश्यक सिट गठबन्धनबाट नपाएको जसपामा पनि तीब्र असन्तुष्टि छ । जसपासित तालमेल गर्न एमाले र लोसपा पनि तत्पर देखिएको बताइन्छ ।तर नागरिकता प्रमाणीकरण प्रकरणमा एमालेको भूमिकाले जसपासितको दूरी बढाएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनप्रति सबै दलमा असन्तोष छ ।कांग्रेसका नेता एवं पूर्व मन्त्री रामकृष्ण यादवले धनुषाका निर्वाचन क्षेत्र नम्बर छाड्नु आत्मघाती हुने चेतावनी दिएका छन् ।यद्यपि उनले पार्टी नछाड्ने बताएका छन् । २०७४ सालको चुनावमा प्रतिनिधि सभामा २ सिट मात्र जितेको नेकपा एमालेका लागि पाँच दलीय गठबन्धनमा देखिएका विवादले उत्साह बढाएको छ ।मधेश प्रदेशमा एमालेबाट चुनाव लड्न नेताहरु धमाधम प्रवेश गरेका छन् ।
Please subscribe our official youtube channel below and support us.


