२०७९ आश्विन १२, बुधबार १२:४५

कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन्। विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणका लागि आज बिहान यहाँ आइपुगेकी हुन्।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ। साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ।

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो। तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो।

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी संसद् सिनेटमा गत जुलाईमा संसदीय सुनुवाइका क्रममा चीनले एमसीसीबारे भ्रमणपूर्ण सूचना फिँजाए पनि नेपालको संसदले एमसीसी परियोजना पास गरेको बताएका थिए। त्यसलगत्तै नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपको खण्डन गरेको थियो।

चिनियाँ दूतावासले अमेरिकी राजदूतको अभिव्यक्ति चीनलाई बदनामी गराउने चालका रूपमा व्याख्या गर्दै राजदूतको भनाइले नेपाल र नेपाली जनताको अपमान भएको बताएको थियो। अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।

नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ। उनी एसियाली मुलुकहरूको १२ दिने भ्रमणका लागि बुधबार काठमाडौं आएकी हुन्।

Comment


Related News

Latest News

Trending News