
शिवनगर स्थित दुर्गा मन्दिरको अधुरो भवन निर्माणका लागि विभिन्न व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
माधवनारायण नगरपालिकाका पूर्व मेयर वीरेन्द्र प्रसाद यादवले जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा हालै निर्माण गरिएको दुर्गा मन्दिरको अधुरो भवन निर्माणको काम आफूले गराउने प्रतिवद्धता जनाएका छन् । विजया दशमीको अवसरमामा दुर्गापूजा समिति शिवनगरले शुक्रवार शिवनगर स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा पूर्व मेयर यादवले आफू अहिले मेयर पदमा नभएपनि प्रदेश वा केन्द्र सरकारबाट बजेट ल्याएर उक्त मन्दिरको अधुरो भवन निर्माण कार्य पूरा गर्ने घोषणा गरे । यसअघि आफू मेयर पदमा हुँदा सो मन्दिर निर्माणका लागि ५ लाख रुपैया सहयोग गरेको बताउँदै यादवले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न मन्दिरसहित थप भौतिक संरचना निर्माणमा आफूले सहयोग गर्ने बताए । उनले शिवनगरमा अहिले भइरहेको दुर्गा पूजाका लागि समेत ५ हजार एक सय रुपैया सहयोग गर्ने घोषणा गरे । सोही कार्यक्रममा गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले सो मन्दिर निर्माणका लागि विगतमा पनि आफूले सहयोग गरेको र आगामी दिनमासमेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शिवनगर सहित गरुडा नगरवासीले आफूप्रति देखाएको सद्भावले आफूलाई थप जिम्मेवार बनाएको मेयर जयसवालले बताए । सकेसम्म छिटो छरितो ढंगले महादेव मन्दिरको नामले जिल्लाकै प्रख्यात धार्मिक पर्यटकीय गन्तव्य शिवनगर दुर्गा मन्दिरको बाँकी भौतिक संरचना निर्माणमा जुट्ने मेयर जयसवालले घोषणा गरे । सो क्रममा गरुडा नगर प्रमुख जयसवालले दुर्गा पूजाका लागि आफना व्यक्तिगत तर्फबाट ५१ हजार रुपैंया सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले पनि शिवनगरमा भइरहेको दुर्गा पूजाका लागि १० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाए।