पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ५ बिरन्चीबर्वामा नवनिर्मित ईलाका प्रहरी कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी मसाउद आलम खाँले उक्त प्रहरी भवनको उद्घाटन गरेका छन् । कालिकामाई गाउपालिकाले उपलब्ध गराएको ७ कठ्ठा जग्गामा प्रहरी प्रधान कार्यालयले २ करोड ३२ लाख रुपैयाको लागतमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरेको छ । नवनिर्मित भवनमा आधुनिक कार्यालय,प्रहरी ब्यारेक,महिला प्रहरी व्यारेक,संचार शाखा,कार्यालय प्रमुखको कार्यकक्ष,शौचालय,थुनुवा कोठा र भान्सा कोठा निर्माण गरिएको छ । २०७७ सालमा तत्कालीन गाउपालिका अध्यक्ष स्वर्गीय नथुनी कुशवाहाको नेतृत्वमा रहेको कार्यपालिकाले प्रहरी भवनको लागि ७ कठ्ठा जग्गा खरिद गरेको थियो।
जग्गा व्यवस्थापन भएपछि कालिकामाई गाउपालिका वडा नम्बर ५ का तत्कालीन वडा अध्यक्ष पवन तिवारीको अगुवाइमा तत्कालीन नेपाल प्रहरीका आईजिपी सर्वेन्द्र खनालले भवन निर्माणको लागि टेण्डर प्रकृया अगाडि बढाएका थिए । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत ,कालिकामाई गाउपालिकाका अध्यक्ष बशिष्ठ कुमार , सशस्त्र प्रहरी उपरिक्षक तेजप्रकाश पोखरेल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको थियो ।

