नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता विद्येयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफल नै नगरी विद्येयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले गलत नियत देखाएको आरोप लगाएका छन् ।
राष्ट्र युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिवार सप्तरीको क्षेत्र नं. १ कञ्चनरुप नगरपालिकाको सिमरा स्थित धर्मेश्वर चोक मैदानमा आयोजना गरेको मधेश प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् । गठबन्धन दलहरुको भरमा दम्भ देखाउँदै विद्येयकमा अनावश्यक कुरा राखेर प्रतिपक्षीसँग कुनै छलफल नै नगरी नागरिकता विद्येयक दोश्रो पटक पनि जस्ताको त्यस्तै पठाएको उनको भनाइ थियो । जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिक्ता दिने पक्षमा एमाले सदैव रहेको भन्दै उनले वर्तमान गठबन्धन सरकारले अनावश्यक बखेडा झिकेको बताए । वर्तमान गठबन्धन सरकारले १४ महिनामा देशको अर्थतन्त्रलाई ओरालो मात्र लगाएनन उनले भने ‘गठबन्धनको राजनीति गरेर प्रतिस्पर्धाको नाममा एक आपसमा द्वन्द्व फैलाउने र जनतालाई भ्रममा पार्ने काम समेत गरेका छन् । उनले वर्तमान सरकारलाई घुँढा टेक्ने सरकारको संज्ञा दिदै भने–‘कसैले सीमा मिचे पनि घुँढा टेक्ने र चु सम्म नबोलेर कायरताको प्रदर्शन गर्ने गरेका छन् ।‘ मधेश एजेन्डाप्रति ‘अनुदार’ छवि बनाएका ओलीले आफू र आफ्नो पार्टी तराई–मधेश विरोधी नभएको स्पष्ट पारे । उनले अरुले बीस वर्षमा गर्न नसकेको काम आफूले आफ्नो तीन वर्ष कार्यकालमा गरेर देखाइ दिएको दाबी गरे । आफू प्रधानमन्त्री रहेको बेला मधेश विकासका लागि गरिब जनता आवास, हुलाकी राजमार्ग, चक्रपथ निर्माण, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, आधुनिक कृषि उत्पादन वृद्धि लगायतका दर्जनौं कार्यक्रम ल्याएको बताउँदै उनले भने–‘मंसिर ४ गतेको निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने र एक महिनाभित्रमा नागिरकता समस्या पनि समाधान हुने छ ।
’ उनले देशको रक्षा गर्ने विकासका गतिलाई तीब्र पार्ने पार्टी एमाले मात्र भएको दाबी गर्दै केही राजनीतिक दल, समूह र व्यक्तिले आफ् नो स्वार्थका लागि एमाले मधेश विरोधी पार्टी भएको भ्रम फैलाउने गरेको आरोप लगाए । उनले गठबन्धन दलका नेताको आचरणले तराई–मधेशका आम नागरिकले दुःख भोग्नुपरेको चर्चा गर्दै एमालेनै न्याय गर्ने दाबी गरे । २०७४ को निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको आफ् नो पार्टीले यसपल्ट उत्साहजनक परिणाम ल्याउने बताए । यसपल्ट मधेशमा पनि आफ्नो पार्टीमा जनताको आकर्षण बढेको छ, उल्लेख्य संख्यामा अन्य दलका नेता/कार्यकर्ता प्रवेश गरिरहेका छन्, ओलीले भने– अहिले पनि अन्य दलका धेरै नेता कार्यकर्ता एमालेमा आउन आतुर छन् । २०७३ फागुन २३ मा पार्टीको मेची–महाकाली अभियान लिएर सप्तरीकै मलेठमा एमालेले ओलीकै उपस्थितिमा आयोजना गरेको चुनावी सभा मधेशवादी दलले विथोल्न खोज्दा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । त्यो घटनाको करिब साढे पाँच वर्षपछि ओली सप्तरी आएका छन्। यद्यपि मधेशवादी दलले फेरि पनि विरोधका कार्यक्रम गर्न सक्ने आकलन गरेका एमालेले यसपल्ट भने कार्यक्रम स्थल सदरमुकाम बाहिर पूर्व–पश्चिम राजमार्गमा पर्ने कञ्चनरुप नगरपालिकामा उनको कार्यक्रमलाई दृष्टिगत गरी कार्यक्रम स्थल र आसपास क्षेत्रमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको थियो । सो अवसरमा ओलीले जसपा मधेश प्रदेश कमिटी सदस्य रिता यादवसहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ८ सय ५५ जनालाई फूल माला र अबिर लगाई स्वागत गरेका थिए । उक्त सभाबाटै ओलीले मधेश प्रदेश निर्वाचन परिचालन कमिटीसमेत घोषणा गरे । राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीका अध्यक्ष मोविन आलमको अध्यक्षतामा आयोजित सभामा एमाले नेता महेश बस्नेत, समुन प्याकुरेल, मनिष श्रेष्ठ, राजकुमार लेखी, दिवाकर देवकोटा, सरिता गिरी, किरण पौडेल लगायतले पनि सम्बोधन गरेका थिए ।