अपडेट 
२०७९ आश्विन १६, आईतवार ०६:३१

केही महिना अघि हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको मृत्यु भएको जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलमा फेरि पनि लापरबाहीकै कारण एक महिलाको मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगर बस्ने दीलिप मण्डलकी २८ वर्षीया श्रीमती विद्याकुमारी मण्डलको मृत्यु भएको छ । विद्यालाई प्रशव पीडा हुँदा परिवारजनले उपचारका लागि भदौ २३ गते नैना हस्पिटलमा ल्याएका थिए । नैना हस्पिटलमा २४ गते उनको नर्मल डेलेभरि भयो । शिशु जन्मिएपछि आमाको पाठेघरबाट अत्यधिक रक्तस्राव हुन लाग्यो । डेलेभरिपश्चात् बिरामीको पाठेघर फाटिसकेको थियो । उनलाई परिवारजनले रगतको व्यवस्था गरी ३१ पोका रगतसमेत चढाइयो । तर पनि उनी गम्भीर अवस्थामा रहेको भन्दै परिवारको सहमतिबिना नै चिकित्सकले उनको पाठेघर हटाइदिए । सोही क्रममा पाठेघरको नली काटियो । त्यसपछि विद्याको अवस्था झन बिग्रिदै गयो । मृतकका पति दीलिपले भने, ‘ नर्मल डिलेभरिपश्चात् यदि मेरो श्रीमतीको पाठेघरबाट अत्यधिक रक्तस्राव भइरहेको थियो भने अस्पतालले हामीलाई जानकारी दिएन । हामी त्यति बेला नै बिरामीलाई बाहिर लगथ्यौं । तर, अचानक अवस्था जटिल बनिसकेपछि अस्पतालले हामीलाई जानकारी गरायो ।’ ‘डाक्टरलाई बिरामीको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ उनले, ‘तर, अचानक अवस्था बिग्रेपछि हामी २५ गते बिरामीलाई लिएर हेलिकप्टरमार्फत काठमाण्डुको मेडिसिटी अस्पताल पुग्यौं ।’ मेडिसिटी अस्पतालमा २२/२३ दिनसम्म उपचार गराए पनि अन्त्यमा शनिबार बिहान त्यहाँको चिकित्सकले जनकपुरकै हस्पिटलले बिरामीको अवस्था बिगारेकोले त्यहीँ लगेर उपचार गराउन सुझाव दिएको दीलिपले बताए । शनिबार बिहान फेरि बिरामीलाई जनकपुरधाम ल्याएर नैना हस्पिटलमै भर्ना गरिएको थियो । तर, बिरामीको अन्तिम अवस्थामा पनि यस अस्पतालका चिकित्सकले उनलाई बचाउने कुनै प्रयास नगरेको उनको दुःखेसो छ । उनले यहाँ आएपछि आफ्नो श्रीमतीको मृत्यु भएको बताए । मेडिसिटीमा ३२ लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।

उनले आफ्नो जग्गा बन्धकी राखेर सो पैसा ऋण लिएकोसमेत दुःखेसो सुनाए । घटना सम्बन्धमा अस्पतालले भने सकेसम्म बिरामीलाई बचाउने सम्पूर्ण प्रयास गरे पनि बचाउन नसकिएको र काठमाण्डुमा उपचाररत् रहेको बेला मानवताको नाताले दुई लाख रुपैयाँ सहयोगसमेत गरेको जनाएको छ । यता,अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारजनले बिहानैदेखि नैना हस्पिटलको अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरी र मृतकका परिवारजनबीच सामान्य झडपसमेत भएको छ । यसअघि गत भदौ १६ गते पनि नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको थियो । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीले जन्म दिएको शिशुको अस्पतालका चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=Hq1MumT5F8c

 

Comment


Related News

Latest News

Trending News