नवरात्रिको सातौं दिन जनकपुरधामस्थित शक्तिपीठहरूमा फूलपाती भित्र् याइएको छ ।
राजदेवी मन्दिरलगायत जनकपुरधामका दर्जनौं शक्तिपीठहरूको पूजाघरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । नेपाली सेनाको टोलीले बाजागाजासहित उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरू राखेर ल्याइएका फूलपाती राजदेवी मन्दिरमा विधि विधानका साथ पूजापाठ गर्दै भगवती स्वरूप माता राजदेवीको अगाडि राखिएको छ । फूलपाती भित्र् याउनेलाई तराई मधेशमा बेलतोरी भनिन्छ । षष्ठी तिथिका दिन बेलतोरी अर्थात् माता भगवतीको आँखा बनाउन प्रयोग गरिने बेललाई छेक्ने गरिन्छ । सोही बेललाई तोडेर भित्र्याउने कार्यलाई बेलतोरी भन्ने गरिन्छ । खासगरी पूजाका लागि माता दुर्गाको बनाइएको माटोका मूर्तिको आँखा बनाउने (फोड्ने) कार्यमा बेलको फल प्रयोग गरिन्छ । सो बेलको बीउले सप्तमीका दिन १२ बजे राति माता दुर्गाको आँखालाई पूर्ण आकृति दिने गरिन्छ । तर, राजदेवी मन्दिरमा माटोको माता भगवतीको मूर्ति नभए पनि सोही विधि विधानअनुसार माता राजदेवीको पिडीमा रहेको आँखा आकृतिलाई पूर्ण रूप दिने गरिन्छ । माताको पूर्ण आकृति तयार भएपछि अष्टमीका दिन बिहान महिलाहरूले परिवारमा सुखशान्ति र सन्तानको दीर्घायुको कामना गर्दै खोंइच भर्ने गर्छिन । खोंइच भराइएपछि सोमाबर अष्टमीको बेलुका भव्यताका साथ निसा पूजा गरिनेछ भने निशा पूजा पश्चात बलि प्रदान कार्यक्रम हुनेछ ।
जनकपुरधाममा प्रत्येक वर्ष १५ हजारको हाराहारीमा बलि प्रदान हुँदै आएको छ । सोही हाराहारीमा यस वर्ष पनि बलि प्रदान हुने अनुमान गरिएको छ ।