२०७९ आश्विन १७, सोमबार १३:३९

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। २०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘२०६४, २०७० र २०७४ (साल)को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भनेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिध सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

आगामी प्रदेश तथा प्रतिनिध सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। नेसपाका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा)बाट चुनावमा उठ्ने पनि सहमति भएको छ।

चुनाव नउठ्ने घोषणा गरेको सामाजिक सञ्जालको सन्देशमा भट्टराईलेले गोरखाली जनताले आफूभन्दा पनि अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने बताएका छन्।

‘म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु,’ बाबुरामले भनेका छन्।

Comment

Related News

Latest News

Trending News