मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आफ्नो ५ वर्षे कार्यकालको उपलब्धि र गर्न नसकेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका छन् ।
सभामुख यादवले प्रदेशको नाम र राजधानी तोक्न सफल हुनु नै आफ्नो सबैभन्दा महत्वपूर्ण उपलब्धि रहेको बताए । उनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘सायद म नभएको भए प्रदेशले नाम मधेस न राजधानी जनकपुरधाम हुने थिएन । यो प्रदेश सरकारको होइन, मेरो भूमिकाले सम्भव भयो ।’
प्रदेशको नाम र राजधानी तोक्यौं भनेर दाबी गर्ने मुख्यमन्त्री र मन्त्रीहरु पनि झुटो बोलिरहेको सभामुख यादवले टिप्पणी गरे । नाम र ठेगाना तोक्न नसकेमा संघीयता नै धरापमा पर्ने भनेर एक/एक सांसदलाई कन्भिन्स गरेर प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोक्न सफल भएको उनले दाबी गरे ।
उनका अनुसार २०७४ माघ ७ गते सपथग्रहणपश्चात माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । अहिलेसम्म प्रदेशसभाको ९ अधिवेशनमा २२८ बैठक (३११ घण्टा १८ मिनेट ५६ सेकेण्ड) बसेको छ । प्रदेशसभामा ६१ विधेयक दर्ता भएकोमा ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ ।

