मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै चुनावी गतिविधि तीव्र बनेको छ ।
दुई दिन अघि निर्वाचन क्षेत्र नं. २ मा पर्ने राजविराजमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ को कंचनरुप नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै निर्वाचन गतिविधि तीव्र बनेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय आफैले उद्घाटन गरेका जिल्ला अदालत सप्तरीका प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले अब निर्वाचन आयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढिसकेको बताए। उनले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको सहयोगका लागि अपिल गरे । निष्पक्ष निर्वाचनका लागि सबैको सरोकार हुने भन्दै उनले त्यसका लागि आचारसंहिता र निर्वाचन कानूनहरुको पालना गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सुरक्षा निकायका साथै सबै सरोकारवालाले निर्वाचनका समयमा भयरहित वातावरण निर्माणमा लाग्नु पर्ने बताए । सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोकेको छ । सप्तरीमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकरी रमेश कुमार जोशीले जानकारी दिए ।
प्रहरी उपरीक्षक अविनारायण काफ्लेले निर्वाचनलाई भयरहित र मर्यादित बनाउन नेपाल प्रहरी,सशस्त्र प्रहरी र सेनाको समन्वयमा एकीकृत सुरक्षा प्रणाली लागु गरिएको बताए । उनले यस कार्यमा सशस्त्र प्रहरी र सेनाका साथै नेपाल प्रहरीका १ हजार ६ सय ३४ तथा म्यादी प्रहरीका ३ हजार २ सय ७८ जनशक्ति परिचालन हुने जानकारी दिए । जिल्लामा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन् । जसमध्ये २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य मतदाता छन् ।

