अपडेट 
२०७९ आश्विन २३, आईतवार १०:३९

डा. रामसागर पंडित
नेपाल विश्वका देशहरूमध्ये एउटा भूपरिवेष्ठित देश हो । यसलाई तीनतिरबाट भारत र उत्तरतिरबाट चीनले घेरेका छन् । नेपालको भौगोलिक धरातललाई हेर्दा नेपालको क्षेत्रफल १४७,५१६ वर्गकिलोमीटर र जनसङ्ख्या २९,१९२,४८० मध्ये पुरुष जनसङ्ख्या १४,२९१,३११ र महिला १४,९०१,१६९ रहेका छन् । नेपाल तीन प्राकृतिक क्षेत्रमा विभाजित छन् : हिमाल, पहाड र तराई । तीनै क्षेत्रलाई विस्तृत रूपमा हेर्दा नेपाल प्राकृतिक सम्पदामा धनी भएपनि हाल एउटा अल्पविकसित मुलुकभित्र रहेको छ । यसको मूल कारण प्राकृतिक स्रोतहरूको समुचित प्रयोग नहुनु हो । जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गरी खाद्यान्नमा बृद्धि गर्नुपर्ने हुन्छ तर त्यस्तो देखिएन । आजभन्दा केही दशकअघिसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो । नेपालमा उत्पादन भएका खाद्यान्न आफूले खाइओइ गरेर अतिरिक्त खाद्यान्न भारतीय बजारमा विक्री गर्न लगिन्थ्यो र त्यहाँबाट महिनौं सम्मका लागि मसला, लत्ता कपडा, नुन, चिनी, औषधि, घर निर्माणका सामग्री लगायत अन्य घरेलु प्रयोगका सामानहरू ल्याइन्थ्यो । व्यापार संतुलनमा थियो । आजसम्म आउँदा नेपाल हरेक क्षेत्रमा मूलरूपले भारतमाथि निर्भर हुँदै गएको छ । यस्ता निर्भता नेपालको लागि मात्र होइन कुनै पनि देशको लागि राम्रो मानिँदैन । यसलाई नेपालले छिट्टै सुधार्नेतिर ध्यान दिनुपर्ने हो, होइन भने जे पनि हुन सक्छ ।

नेपाल आकारमा सानो भएपनि प्रकृतिले यसलाई अन्न, फलफूल, माछामासु, दुध, जस्ता खाद्यान्नको सम्भावनामा निकै धनी बनाएको देखिन्छ । तराईमा अन्न, पहाडमा फलफूल तथा हिमालमा मासुको सम्भावनामा धनी देखिन्छ । पर्यटनको हिसाबले हेर्ने हो भने निकै ठूलो क्षेत्र देखिन्छ ।
खाद्यान्नको अवस्था कमजोर हुनुमा खास गरी राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा वातावरणीय अवस्थाको संरक्षण गर्न नसकेर हो । वातावरणीय अवस्था र जनसंख्या वृद्धिका बीच सन्तुलन हुनुपर्दछ । वातावरणीय ह्रासले चौतर्फी प्रभाव पारेको छ । जनसङ्ख्या वृद्धि र वातावरणीय ह्रासले गर्दा पारिस्थितिक प्रणालीमा समेत असर पुगेको छ । पारिस्थितिक प्रणालीमा आएको असन्तुलनताले गर्दा विश्वका प्रत्येक क्षेत्र आक्रान्त देखिन्छ । खासगरी कृषि प्रणालीलाई निकै प्रभावित गरेको छ । वातावरणीय अवस्था खस्किनुले विश्वमा वातावरणीय प्रदूषण चरम उत्कर्षमा पुगेको छ । वायु प्रदूषण, जल प्रदूषण, माटो÷जमिन प्रदूषण, ध्वनि प्रदूषण तथा सामाजिक सांस्कृतिक प्रदूषणलाई लिन सकिन्छ । यी सबै हाम्रा जीवनका लागि माात्र होइन प्रत्येक प्राणीका लागि अत्यावश्यक तत्व मानिन्छन् । यसबाट यतिमात्र कहाँ हो र ! विश्वव्यापी रूपमा वातावरणीय समस्या÷खतराहरू टड्कारो रूपमा सामुने उभिएका छन् । उदाहरणको रूपमा यस्ता खतराहरूमा हरितगृह प्रभाव र पृथ्वीको तापमानमा वृद्धि, हावापानी परिवर्तन र समुद्रको सतह बढ्ने मात्रामा बृद्धि, ओजन तहको विनाश र परावैजनी विकिरण तथा प्राविधिक प्रकोप र आणविक विकिरण जस्ता कुराहरूलाई लिन सकिन्छ ।

यस्ता खतराहरूलाई समयमै व्यवस्थापन गर्न सकिएन भने विश्व नै आक्रान्त हुने देखिन्छ । मानिसहरू अहिले नै यसका प्रभावहरू अनुभव गर्न थालिसकेका छन् । पूरै पारिस्थितिक संतुलन खतरामा परेको देखिन्छ । मानिस तथा अन्य जीवजन्तुको अवस्था गम्भिर मोडमा आउन लागेको देखिन्छ । हुनत विकसित तथा अल्पविकसित देशहरू केही न केही प्रयास गरे पनि त्यसलाई इमान्दारीपूर्वक लागु नगरेकाले वायुमण्डल, जलमण्डल, स्थलमण्डल तथा जीवनमण्डल जस्ता सबैका सबै वातावरणीय ह्रासबाट उत्पन्न समस्यासँग जुध्न वाध्य छन् । यसको मूल कारण विकसित देशहरू हातहथियार तथा प्राविधिक विकासले गर्दा तथा अल्पविकसित देशहरूमा तीव्र जनसङ्ख्या वृद्धिले गर्दा यस्ता खतरा देखा परेका छन् । वातावरण जोगाउन विश्वव्यापी रूपमा सबै समाज, वर्ग, राष्ट्रहरूले लिने वातावरणीय साधारण लक्ष्यहरूः विग्रेको वातावरण जोगाउनका लागि अभिप्रेरित र महत्व दिनु, जैविक विविधतालाई संरक्षण गर्नु, तीव्र गतिमा भइरहेको मरुभूमिकरणलाई नियन्त्रण गर्नु, सहभागितामूलक विकास परियोजना संचालन गर्नु, प्रारम्भिक वातावरण परिक्षणलाई निरन्तरता दिनु, राम्रो स्वास्थ्य, सफा र हरियाली वातावरण कायम राख्नु, वातावरण सुरक्षित तथा दिगो विकास हासिल गर्नु, विकास तथा संरक्षण कार्यमा मौलिक ज्ञानको प्रयोग गर्नु, कृषि–वन र वातावरण संरक्षणमा जोड दिनु, जनसङ्ख्या वृद्धिलाई नियन्त्रण गरी प्राकृतिक संसाधनसँग त्यसको समायोजन गराउनु, सबै प्रकारका प्रदूषणहरूलाई नियन्त्रण गर्नु ।

यी कुराहरू लागु गर्न वातावरण सम्वन्धी विश्वकमा कैयौं सम्मेलनहरू सम्पन्न भएका छन् । यसमा मुख्य सम्मेलनहरू रियोघोषणा–पत्र र पृथ्वी सम्मेलन प्रथम र द्वितिय रहेका छन् भने केही प्रमुख सन्धि÷अभिसन्धिहरू क्योटो प्रोटोकल अथवा क्योटो तापमान सन्धि, सिमसार क्षेत्रको संरक्षण र कार्वन व्यापार सम्वन्धी सन्धि रहेका छन् । यी सम्मेलनहरू तथा सन्धि÷अभिसन्धिहरूमा नेपाल पनि भाग लिएका थिए । यी खतराहरू रोक्न नेपालले पनि योजनाबद्ध रूपमा कार्यक्रमहरू संचालनमा ल्याएको छ । तर नेपालको तीव्र जनसंख्या वृद्धि तथा गरिबीले गर्दा सफल कार्यान्वयनमा बाधा उत्पन्न भएको देखिन्छ ।

दिगो कृषि उत्पादनको लागि सबैभन्दा पहिले जनसङ्ख्या वृद्धि तथा खाद्यान्नको वृद्धिमा समरूपता हुनु पर्दछ । जनसंख्या बढी भयो भने कृषि उत्पादनमा दिगोपना आउँदैन । खासगरी विद्यमान स्रोत र साधनलाई भविष्यमा हुने विकास कार्यक्रमका लागि वाँकि राख्ने कुरालाई जनाउँदछ । दिगो कृषि उत्पादन त्यस्तो उत्पादन हो जसले भविष्यमा आउने सन्ततिहरूका लागि चाहिने कुनै पनि किसिमको हानी नगरिकन विद्यमान मानिसहरूका आवश्यकता पुरा गर्दछ । दिगो कृषि उत्पादन मानवीय क्रियाकलाप र प्राकृतिक स्रोत र साधन बीचका सन्तुलनसँग सम्बन्धित छ । कृषि उत्पादन र वातावरणको वीचमा अन्योन्याश्रित सम्वन्ध छ । यसै सम्वन्धमा सन् १९८३ मा वातावरण र विकास सम्वन्धि आयोग गठन गर्न संयुक्त राष्ट्र संघ साधारण सभाबाट प्रस्ताव पारित गरी दिसम्वर सन् १९८३ मा ब्रुन्टलैण्ड आयोग गठन भयो । उक्त आयोगले सन् १९८३ मा संयुक्त राष्ट्र संघको ४२ औं साधारण सभामा आफ्नो प्रतिवेदन ‘‘हाम्रो साझा भविष्य” प्रस्तुत गर्यो । उक्त बहुचर्चित प्रतिवेदन उत्तर दक्षिण बीचको विचार र उत्तरदायित्वलाई सन्तुलन मिलाउने प्रयास गर्दै केही सुझाव प्रस्तुत गरेको थियो । उक्त आयोगकै भनाइमा ‘‘यदि हामीले अविच्छिन्न रूपमा अहिले जतिकै प्राकृतिक साधनहरूको प्रयोग गर्दै जाने हो भने गुणात्मक रूपले घट्दै गइरहेको जीवनको आशा गर्न सकिन्छ भने निष्कर्ष निकालेको थियो । उक्त भनाइ शतप्रतिशत लागु भएको देखिन्छ । कृषि कार्यक्रमको क्षेत्र जनसंख्या वृद्धिको तुलनामा दिनप्रतिदिन घट्दै आएकोले अहिले विश्वको एक तिहाइ मानिसहरू भोकभोकै बस्नु पर्ने बाध्यता देखिन्छ ।

नेपालको सन्दर्भतिर जाँदा जनसंख्या बृद्धि र कृषि उत्पादनमा निकै भिन्नता देखिन्छ । नेपाल सरकार अहिलेसम्म जनसंख्यावृद्धिलाई सन्तुलनमा ल्याउन नसकेको कारणले नेपालीहरूका खाद्यान्न आपूर्तिमा भारतमाथि निर्भर हुनु परेको छ । अहिले एशिया महादेश कै जापान र चीनलाई उदाहरणका रूपमा लिन सकिन्छ । यिनीहरूले दिगो कृषि उत्पादनलाई निरन्तरता दिएको देखिन्छ जसले गर्दा विकासको गतिमा तिव्रता आएको छ । चाइना पनि कमै समयमा जनसंख्यालाई नियन्त्रण गरेर दिगो कृषि उत्पदनलाई कायम गर्न सफल भएको छ । यिनीहरू मुलुकले भार सहन गर्न सक्ने जति जनसङ्ख्या बढाउन अनुमति दिन्छन् । नेपालमा खास गरी हिमालमा मासु, पहाडमा फलफूल तथा तराईमा अन्नबालीको निकै ठूलो सम्भावना रहेको देखिन्छ । यसका लागि वातावरणमा ह्रास आउनु हुँदैन । पारिस्थितिक प्रणालीमा सन्तुलन हुनुपर्दछ ।

अहिले नेपालमा खाद्यान्न कम उत्पादनका मुख्य कारणहरुमा वनजंगलको अत्यधिक फडानी, जलस्रोतलाई सुरक्षा दिन नसक्नु, भूक्षय, सुखा, जनसंख्याको तीव्र वृद्धिदर रेहका छन् । चुरिया क्षेत्रका ‘हरियो वन नेपालको धन’ सकिसकेको छ । चुरिया क्षेत्र जो तराई क्षेत्रको जलवायु नियन्त्रणको आधारको रूपमा काम गर्दै आइरहेकोमा आफै नांगो देखिन्छ । यसले गर्दा तराईमा वर्षाको अभाव, भुइमुनिको पानीको सतह गहिरिदै जानु, पैरो, भूक्षय, नदीनालामा जलस्तरमा कमीले तराई क्षेत्रको खेती योग्य जग्गालाई सोझो रूपमा प्रभावित गरेको देखिन्छ । खाद्यान्न आपूर्तिमा कमी हुनुको मूल कारणको रूपमा चरिया क्षेत्रमा आएको ह्रासलाई लिन सकिन्छ ।

नेपालमा खाद्य सुरक्षाको विश्लेषणतिर जाँदा खाद्य आपूर्तिमा कमी देखिएकोले खाद्य सुरक्षाको अभाव देखिन्छ । आ.ब. २०७८।०७९ को फागुनसम्म रू. २ खर्ब ८८ अर्व ६७ करोड बराबरको कृषि तथा पशुजन्य उत्पादन आयत भएको छ । आ.ब. २०७७।०७८ मा यस्तो आयात रू. २ खर्ब १२ अर्ब ८१ करोड रहेको थियो । त्यसैगरी चालु आ.ब. को फागुसम्म रू. १ खर्ब ५ अर्ब १४ करोडको कृषि तथा पशुजन्य उत्पादन निर्यात भएको थियो । गत आ.ब. को सोही अवधिमा त्यस्तो निर्यात रू. ४६ अर्ब ३० करोड रहेको थियो । यसले के देखाउँछ भने कृषि तथा पशुजन्य उत्पादनको आयात दिनप्रतिदिन बढ्दै गएकोले यसलाई राम्रो सूचक मान्न सकिँदैन । नेपालमा खाद्यान्न, तरकारी तथा दलहन, मासु, माछा, दुग्ध पदार्थ जस्ता खाद्यवस्तुमा परिनिर्भरता बढ्दै गएको देखिन्छ ।

नेपालमा पोसिलो आहार उपलब्धता र पहुँचमा कमी देखिन्छ । पोषण मानव शरीरलाई शक्ति प्रदान गर्ने एक महत्वपूर्ण आधार हो । उपयुक्त पोषण तत्वको अभावमा शरीरको वृद्धि र विकासमा प्रभाव पार्न गई विभिन्न रोगहरूले आक्रमण गर्न पुग्छ । परिणामस्वरूप मानिस मृत्युको मुखमा पुग्दछ । कुपोषण विशेष गरी ५ वर्ष भन्दा मुनिका बालबलिकाहरूलाई हुने गर्दछ । यसलाई निराकरण गर्न खाद्यान्नको आपूर्तिमा कमी हुनुहुँदैन ।

जहाँसम्म नेपाललाई खाद्यान्न आपूर्तिमा आत्मनिर्भरताको कुरो छ यसमा जनसंख्याको तीव्र वृद्धिलाई नियन्त्रण गरी विस्तारै आयात घटाउँदै जाँदा मात्र हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने छौं, अन्यथा भन्न सकिन्न । यसका लागि मूल नारा :
जनसङ्ख्या नियन्त्रण गर्दै जल, जमीन र जंगललाई सुरक्षित गरौं
कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने काममा सहयोग गरौं ।

लेखक त्रिविका सेवा निबृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

 

Comment


Related News

Latest News

Trending News