आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न जनकपुरधाममा उम्मेदवार र उम्मेदवारका समर्थकहरुको भिड लागेको छ ।
क-कस्ले गराए उम्मेदवारी दर्ता
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (१)मा नेपाली कांग्रेसका रामसरोज यादव र ३ (२) मा लोसपाका धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका साहले जनकपुरधामस्थित निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधि सभामा मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने नेमकिपाबाट रामहृदय साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (ख) मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपमेयर असगर अलीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा क्षेत्र ३ मा नेकपा एमाले–जसपा गठबन्धनबाट जुली महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । क्षेत्रीय निर्वाचन कार्यालय तिरहुतिया गाछी पुगेर एमाले नेतृ महतोले उम्मेदवारी दर्ता गराएकी हुन् ।उनीसँगैं जसपाबाट धनुषा क्षेत्र ३ (क) का लागि जितेन्द्र यादव र एमालेबाट (ख) का लागि दिपेन्द्र ठाकुरले सँगै उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधि सभाका लागि रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि उक्त क्षेत्रमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ । नेकपा एसबाट प्रदेश सभामा शैलेन्द्र यादव र रामनारायण साहले उम्मेदवारी दर्ता गराएका छन् ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, जनता समाजवादीबाट गंगाराम यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी गराएका छन् ।
नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रतिनिधि सभाका लागि धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनी निवर्तमान सांसद हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र जनता समाजवादी पार्टी नेपालका महाजन यादवले उम्मेदवारी दिएका छन् ।

