२०७९ आश्विन २४, सोमबार ०७:४१

सप्तरीमा विभिन्न राजनीतिक दलले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेश सभाका ८ गरी प्रत्यक्ष तर्फ १२ पदका लागि निर्वाचन हुने भएकोछ ।

यहाँ सर्वाधिक चर्चामा रहेको सप्तरी सदरमुकाम राजविराज नगरपालिका समेत पर्ने क्षेत्र नं. २ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा लोसपाका नेता जयप्रकाश ठाकुरसहित डेढ दर्जनभन्दा बढी उम्मेदवारले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन् । यहाँ जनमत पार्टीले कसैसँग गठबन्धन गरेका छैनन् । यादव भने जसपा– एमाले गठबन्धन तथा ठाकुर कांग्रेस– माओवादी–लोसपा–एकीकृत समाजवादी गठबन्धनकातर्फ बाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । यादव र ठाकुर उम्मेदवारी दर्ताका लागि आ–आफ्नो समर्थक सहित पुगेपनि राउत भने बाजागाजा र ठूलै समर्थक सहित मनोनयनपत्र दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस क्षेत्रबाट राप्रपा नेपालको तर्फबाट हजरत अली, राप्रपाबाट कैला मंसुरी मियाँ, नेमकिपाबाट देवनारायण यादव, हाम्रो नेपाल पार्टीबाट डम्बर नारायण साह, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट बरुण झा लगायत आधा दर्जन स्वतन्त्र उम्मेदवारले समेत मनोनयनपत्र दर्ता गराएका छन् । यस्तै यस क्षेत्रको प्रदेशसभा सदस्य पदका लागि (क) बाट नेकपा–जसपा गठबन्धनका साझा उम्मेदवार शैलेन्द्र साह, कांग्रेस–माओवादी–लोसपा–एकीकृत समाजवादी गठबन्धनका तर्फबाट लोसपाका सरोज मण्डल, जनमत पार्टीका सतिश सिंह, राप्रपाका जयनारायण मण्डल, नेमकिपाबाट मिना देवी यादव र स्वतन्त्र धिरेन्द्र कुमार साह लगायतले उम्मेदवारी दिएका छन् ।

यसै क्षेत्रको प्रदेशसभा (ख) बाट सदस्य पदका लागि एमाले–जसपा गठबन्धनबाट जसपाका लक्ष्मण यादव, कांग्रेस–माओवादी–लोसपा–एकीकृत समाजवादी गठबन्धनबाट पूर्व मन्त्री माओवादीका उमेश यादव, जनमत पार्टीबाट महेश यदव लगायत ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादव माओवादी केन्द्र मधेश प्रदेश कमिटीको सदस्य भए पनि टिकट नपाएपछि अन्तिम क्षणमा जनमत पार्टीमा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन् । यसै क्षेत्रबाट राप्रपाका फुलेन्द्र मण्डल, राप्रपा नेपालका फुदनलाल खंग र नेमकिपाका महिदेव प्रसाद चौधरी तथा स्वतन्त्रमा खेलानन्द दास लगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जिल्लाको १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि एमाले–जसपा गठबन्धनबाट जसपाका नवलकिशोर साह, कांग्रेस– माओवादी–लोसपा–एकीकृत समाजवादी गठबन्धनबाट कांग्रेसका रामदेव साह र जनमत पार्टीका तर्फबाट चन्द्र नारायण यादवले मनोनयनपत्र दर्ता गराएका छन् । जिल्लाको ३ नम्बर क्षेत्रबाट एमाले– जसपा गठबन्धनको तर्फबाट एमालेका ताराकान्त चौधरी, कांग्रेस–माओवादी– लोसपा–एकीकृत समाजवादी गठबन्धनबाट कांग्रेसका दिनेश कुमार यादव र जनमत पार्टीबाट अनिस अन्सारीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै क्षेत्र नम्बर ४ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका बालकिशोर यादव, कांग्रेस–माओवादी–लोसपा–एकीकृत समाजवादी गठबन्धनबाट कांग्रेसका तेजुलाल चौधरी र जनमत पार्टीका तर्फबाट सुकदेव साहले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष तर्फ कसैले पनि महिला उमेदवारलाई टिकट नदिँदा महिला उम्मेदवारी शून्य भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख रमेश कुमार जोशीले प्रदेश र प्रतिनिधिसभाका लागि जिल्लाको चार वटै क्षेत्रबाट दुई सय भन्दा बढीले मनोनयन पत्र दर्ता गरेको बताए । तथ्यांक सबै आई नसकेकाले संख्या अझै थपिने उनले बताए । साँझसम्म उम्मेदवारी दर्ताका लागि लाममा रहेकाले यकिन तथ्यांक दिन समय लाग्ने उनको भनाइ छ । आसन्न निर्वाचनका लागि जिल्लामा नयाँ थपिएको ९ हजार १ सय १४ सहित कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन् । यसमध्ये पुरुष २ लाख १७ हजार दुई सय ८२, महिला २ लाख १ हजार ७१ र अन्य २१ जना मतदाता छन् । निर्वाचनका लागि जिल्लामा कुल ५ सय ३६ मतदान केन्द्र तोकिएको छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News